एजेन्सी । दक्षिण अफ्रीका आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरिएको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डसंग ७ विकेट पराजित हुँदै दक्षिण अफ्रीका प्रतियोगिताबाट बाहिरिएको हो ।
ग्रोस इस्लेटमा दक्षिण अफ्रीकाले दिएको ८६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १४ ओभर १ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डका लागि ड्यानिली निकोलले २७ तथा टामसिन टिलेले २४ रन जोडिन ।
कप्तान हेथर नाइट र यमी जोन्स १४/१४ रनमा अविजित रहिन् । दक्षिण अफ्रीकाका डान भान निक्रिकले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीका १९ ओभर ३ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो । दक्षिण अफ्रीकाका च्लोए ट्रयाओनले २७ तथा मिग्नोन प्रेजले १६ रन जोडिन ।
दक्षिण अफ्रीकालाई सस्तैमा समेट्न इंग्ल्यान्डकी अन्या श्रुब्सोलले ह्याट्रिक विकेट लिईन् । उनले १९ ओभरको सुरुवाती तीन बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् । यस्तै नटलिया सिभरले पनि ३ विकेट लिईन् ।

जितसंगै इंग्ल्यान्ड सेमिफाइनल नजिक पुगेको छ । समूह 'ए' को इंग्ल्यान्डले ३ खेलबाट ५ अंक जोडेको छ । इंग्ल्यान्ड शीर्ष स्थानमा छ ।
पराजित दक्षिण अफ्रीका ३ खेलबाट २ अंक जोडेर चौथो स्थानमा छ । र, उसको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ ।