काठमाडौं । माघको तेस्रो साता आयोजना हुने धनगढी प्रिमियर लिग क्रिकेट डीपीएललाई रुस्लानले १ करोड १० लाख रुपैयाँको प्रायोजन सम्झौता गरेको छ । धनगढीमा आयोजना हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करणकालागि रुस्लानले एक करोड १० लाख रुपैयाँको प्रायोजन सम्झौता गरेको हो ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाही र रुस्लानकातर्फबाट चीफ फाइनान्स अफिसर सतीस कर्णले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
आयोजक संस्थाका अध्यक्ष शाहीले मुख्य प्रायोजनको ८० प्रतिशत रकम नगद पाउने जानकारी गराएका थिए । सम्झौतासंगै प्रतियोगिताको नाम रुस्लान डीपीएल ३ हुने भएको छ ।
विजय डिस्टिलरीका चीफ फाइनान्स अफिसर कर्णले नेपाली खेलकुद जगतमा पहिलोपटक सर्वाधिक ठुलो रकमको प्रायोजन गरेको जानकारी गराए ।
'हामीले गतवर्षबाट प्रतियोगितासँग जोडिएका छौं,' कर्णले भने, 'हामीले अन्य कार्यक्रममा पनि प्रायोजन गर्दै आएका छौं । तर खेलकुदमा यो नै सबैभन्दा ठुलो प्रयोजन हो ।'
कार्यक्रमको दौरान प्रतियोगिताको लोगो र जर्सी समेत सार्वजनिक गरिएको थियो ।
प्रतियोगितामा दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० रुपैया राखिएको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान ड्रिम फाप्ला लाई छुट्याइनेछ ।