काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मान्यता दिएको छ।
आयोजक एभरेष्ट प्रिमियर लिगले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै तेस्रो संस्करणको प्रतियोगितालाई मान्यता दिएको जनाएको छ । आईसीसीले मान्यता दिएपछि विदेशी खेलाडीहरुलाई प्रतियोगिता खेल्न बाटो खुलेको छ ।
यस पटकको ईपीएलमा जिम्बावेका सिकन्दर राजा, युएईका रोहन मुस्ताफा, मोहम्मद नाभि, आयरल्याण्डका केभिन ओ ब्रुएन, हङकङका बाबर हायत, स्कटल्याण्डका केल कोत्जर र इंग्ल्याण्डका जोन सिम्सनले खेल्नेछन् ।
आयोजकले प्रतियोगितालाई मान्यता दिलाउन २० हजार अमेरिकी डलर समेत आईसीसीलाई बुझाएको छ । आयोजकले नेपाल राष्ट्र बैंकबाट उक्त रकम आईसीसीलाई पठाएको जनाएको छ । उक्त रकम आईसीसीले नेपाली क्रिकेट विकासको लागि खर्चनेछ ।
प्रतियोगिता मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहनेछ ।
यस संस्करणमा अघिल्लो संस्करणकै टिमहरु काठमाडौं, ललितपुर, विराटनगर, भैरहवा, बीरगन्ज र पोखराको सहभागिता रहने छ ।
गत संस्करणको उपाधि विराटनगरले जितेको थियो ।