काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
नेपालले आगामी जनवरीमा आयोजना हुने थाइल्याण्ड महिला टी-ट्वान्टी स्म्यासमा प्रतियोगिता खेल्ने भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसि) का प्रतिनिधि भावना घिमिरेले थाइल्याण्ड क्रिकेट संघले आयोजना गर्ने प्रतियोगितामा नेपालले खेल्न लागेको खेलपाटीलाई जानकारी गराईन । यस्तै घिमिरेले टिमको तयारी डिसेम्बरको अन्तिमबाट हुने बताईन् ।
'नेपाली महिला क्रिकेट टोलीले थाइल्याण्डमा खेल्न लागेको हो । तयारीबारे अहिले तय भएको छैन,' क्यानको पुर्व सीईओ समेत रहेकी घिमिरेले भनिन्, 'आईसिसीले टिमको प्रशिक्षक छनोट गर्नेछ । नेपालको तयारी डिसेम्बर अन्तिमबाट सुरु हुनेछ ।'

प्रतियोगिता जनवरी ८ देखि १७ तारिखसम्म हुनेछ । जसमा आयोजक थाइल्याण्डसंगै, नेपाल, हङकङ, भुटान, इन्डोनेसिया, मलेसिया, युएई, म्यानमार र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । आयोजक थाइल्याण्डको भने दुई टोली रहनेछ ।
आयोजकले १० टिमलाई दुई समूहमा विभाजन गरेको छ । दुई समूह शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ । समूह 'ए' मा नेपालसंगै युएई, नामिबिया, मलेसिया र थाइल्याण्डको 'ए' टिम रहेको छ ।
नेपालले नाबिमियाविरुद्ध १२ जनवरीमा प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै १३ जनवरीमा मलेसिया, १४ मा युएई र अन्तिम खेलमा नेपालले १६ जनवरीमा थाइल्याण्डको 'ए' टिमसंग खेल्नेछ ।
