काठमाडौं । दक्षिण अफ्रिकाका महान क्रिकेटर जोन्टी रोड्सले नेपालमा लुकेर रहेका क्रिकेटका नयाँ प्रतिभाहरुलाई उजागर गर्ने बताएका छन् ।
'राइज अफ द क्रिकेटिङ स्टार्स वीथ जोन्टी रोड्स' कार्यक्रमका लागि नेपाल आएका पुर्व क्रिकेटर रोड्सले नेपाली क्रिकेटमा लुकेर रहेको प्रतिभाहरु बाहिर ल्याउने बताएका हुन् ।
'अन्य देशमा जस्तै नेपालमा पनि थुप्रै प्रतिभाहरु छन् । मात्र तिनिहरुलाई उजागर गर्न नसकिएको हो,' राजधानीमा आइतबार आयोजित एक पत्रकार सम्मेलनमा रोड्सले भने, 'अबको दश दिन भित्रमा उनीहरुलाई उजागर गर्ने प्रयास गर्ने छौ ।'
रोड्सलाई नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एड प्रालिले नेपाली युवा क्रिकेट खेलाडीलाई प्रशिक्षण दिन नेपाल ल्याएको हो । ४९ बर्षीय रोड्सले दक्षिण अफ्रीकाको लागि ५२ टेष्ट र २४५ एकदिवसीय क्रिकेट खेलेका थिए । विश्व क्रिकेटमा उत्कृष्ट फिल्डरको नाममा रोड्सको नाम आउने गर्छन् ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सञ्चालन हुने दश दिने प्रशिक्षणमा रोड्सले यू- १६ र यू- १९ का खेलाडीहरुलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षण क्याम्प मंगलबारबाट सुरु हुनेछ ।
यस्तै रोड्सले नेपालमा आएर प्रशिक्षण दिन पाएकोमा एकदमै खुसी लागेको बताए ।
'म नेपालमा आएको छु । खेलाडीहरु पहिचान गर्न र नयाँ खेलाडी उत्पादन गर्न यो सम्भव पनि छ । दश दिनमा के उपलब्धि हुन्छ त्यो त म भन्न सक्दैन तर नयाँ प्रतिभा र राम्रा खेलाडी अवश्य देखिनेछन्,' रोड्सले भने ।
यस्तै घिमिरेले रोड्सले नेपालका राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुसंग छलफल गर्ने बताईएको छ ।
प्रशिक्षणमा सहभागी हुन ५० हजार शुल्क बुझाउनु पर्नेछ । जसबापत स्कुलले खेलाडीलाई एक बर्षको निशुल्क प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणका लागि अहिलेसम्म ४० खेलाडीले निवेदन दिएको नेपाल क्रिकेट स्कुलका करण घिमिरेले बताए । यस्तै घिमिरेले रोड्सले नेपालका राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुसंग पनि छलफल गर्ने कार्यक्रम रहेको बताए ।