एजेन्सी । चोटका कारण तीन साता मैदान बाहिर रहेका कप्तान लियोनल मेस्सी बार्सिलोनाको टिममा परेका छन् ।
बार्सिलोनाले रियल बेटिसविरुद्धको खेलका लागि शनिबार निकालेको टिम स्क्वाडमा मेस्सी अटाएका हुन् । बार्सिलोनाले बेटिससंग आइतबार घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
तीन साता अघि ला लिगा अन्तर्गत सेभियाविरुद्धको खेलमा मेस्सीले चोट बोकेका थिए । घरेलु मैदानमा नाउ क्याम्पमा सेभियाका फ्रान्को भाज्क्वेजसंग जुध्न पुग्दा मेस्सीको दाहिने हातको हड्डी भाच्चिएको थियो ।
उक्त खेल बार्सिलोनाले ४ – २ ले जितेको थियो । त्यसयता मेस्सी मैदान उत्रिएका छैनन् । तर, बार्सिलोनाको मेडिकल टिमले मेस्सी पूर्ण ठिक भएको बताएपछि उनलाई टिममा राखिएको बताईएको छ ।
मेस्सीले रियल बेटिसविरुद्ध पुनरागमन गर्ने बताईएको छ । यसअघि मेस्सी च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानसंगको खेलमा पनि टिममा रहेका थिए । तर, मेस्सी मैदान उत्रिएका थिएनन् ।
बेटिसविरुद्धको खेलका लागि प्रशिक्षक एर्नेस्टो भालभेर्डेले निकालेको खेलाडी सूचीमा मेस्सीसंगै स्यामुएल उम्टिटि पनि अटाएका छन् । तर, बार्सिलोनाको स्क्वाडबाट फिलिपे कौटिन्हो र ओसुमाने डेम्बेले बाहिरिएका छन् ।
कौटिन्हो चोटको कारण टिममा नपरेका हुन् भने डेम्बेले अनुशासनको कारबाहीमा परेका हुन् । क्लबलाई ढिला जानकारी दिएर प्रशिक्षणमा उपस्थित नभएको भन्दै प्रशिक्षक भालभेर्डेले डेम्बेलेलाई टिममा नराखेका हुन् ।