एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेष्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शनिबार सार्वजनिक गरेको टेष्ट ब्याट्सम्यानको नयाँ वरियतामा कोहली शीर्ष स्थानमा यथावत रहेका हुन् ।
नयाँ वरीयतामा कोहलीले ९३५ अंक प्राप्त गरेका छन् । नयाँ वरियताको दोस्रो स्थानमा अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथले ९१० अंक पाएका छन् ।
तेस्रो स्थानमा रहेका न्युजिल्यान्डका केन विलियम्सनले ८४७ अंक जोडेका छन् । यस्तै इंग्ल्यान्डका जोए रुट ८०८ अंकसहित चौथो स्थानमा रहदा अष्ट्रेलियाका पुर्व उपकप्तान डेभिड वार्नर ९३० अंकसहित पाँचौ स्थानमा रहेका छन् ।
टेष्ट क्रिकेटकै ब्याट्सम्यानतर्फ भारतका चेतेश्वर पुजारा, श्रीलंकाका दिमुथ करुनारत्ने, दक्षिण अफ्रिकाका डीन एल्गेर, श्रीलंकाका दिनेश चण्डीमाल र अफ्रिकाका एडीन मार्क्रम क्रमशः छैटौंदेखि दशौ स्थानमा रहेका छन् ।
बलिङतर्फ इंग्ल्यान्डका जेम्स एण्डरसन ८९६ अंकसहित शीर्ष स्थानमा रहेका छन् । दोस्रो स्थानमा रहेका दक्षिण अफ्रीकाका कागीसो राबडाले ८८२ अंक जोड्दा पाकिस्तानका मोहमद अब्बास ८२९ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।
दक्षिण अफ्रिकाका भेर्नोन पिलान्धरे चौथो र भारतका रबिन्द्र जडेजा पाँचौ स्थानमा रहेका छन् । त्यस्तै न्युजिल्यान्डका ट्रेण्ड बोल्ट, अष्ट्रेलियाका पाट कुमिन्स, श्रीलंकाका रंगना हेराथ , भारतका रविचन्द्र आश्विन र वेष्ट इण्डिजका जासोन होल्डर छैटौं देखि दशौं स्थानमा रहेका छन् ।
टेष्ट क्रिकेटको अलराउन्डरतर्फ बंगलादेशका शाकिब अल हसन शीर्ष स्थानमा रहदा भारतका रबिन्द्र जडेजा दोस्रो स्थानमा छन् । वेष्ट इण्डिजका जासोन होल्डर तेस्रो,दक्षिण अफ्रिकाका भेर्नोन पिलान्धरे चौथो र भारतका रविचन्द्र आश्विन र इंग्ल्यान्डका बेन स्टोक्स संयुक्त पाँचौ स्थानमा रहेका छन् ।