काठमाडौं । सिन्धुपाल्चोकमा जिल्ला स्तरीय जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर आठ क्रिकेट प्रतियोगिता हुने भएको छ ।
पाँचपोखरी क्रिकेट क्लबले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको प्रतियोगिता बिहिबारबाट हुने जानकारी गराएको हो । बिहिबार सुरु हुने प्रतियोगिता मंसिर २ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
'स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, पर्यटन प्रबर्द्धनको लागि खेलकुद' भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा ९ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
पाँचपोखरी थाङपाल गाउपालिकाको सहयोगमा हुने प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराईनेछ । समूह 'ए' मा सिन्धु लायन्स, बाह्रविशे टिम, थाङपाल क्रिकेट सर्कल र हार्ट अफ भोताङ रहेका छन् ।
यस्तै समूह 'बि' मा आयोजक पाँचपोखरी क्रिकेट क्लब, मेलम्ची युनाइटेड, टिम दुवाचौर, थाङपाल धाप क्रिकेट क्लब र भोताङ छ्वलिङ क्लब रहेका छन् ।
प्रतियोगिता पाँचपोखरी थाङपाल गाउपालिकाको धाप सेरा फाटमा हुनेछ । प्रतियोगिताको विजेताले उपाधि ट्रफीसहित ५० हजार नगद प्राप्त गर्दा दोस्रोले ३० हजार नगद पाउने छन् । यस्तै म्यान अफ दि सिरिज, बेष्ट ब्याट्सम्यान, बलर र म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने छ ।
प्रतियोगिताको उत्कृष्ट तीन खेलाडीलाई काठमाडौको वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडमीमा एक वर्षको लागि निशुल्क प्रशिक्षणको व्यवस्था हुने प्रतियोगिता संयोजक अजय कुमार धितालले जानकारी दिए ।
यस्तै एक उत्कृष्ट इमर्जिङ खेलाडीलाई नेक्सस क्रिकेट एकेडमीको तर्फबाट दिल्लीमा १ बर्ष निशुल्क प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ ।
गत २०७२ को बिनासकारी भुकम्पमा निधन भएका पारा ओलम्पियन खेलाडी जित बहादुर खडकाको स्मृतिमा आयोजकले प्रतियोगिता आयोजना गरेको हो । स्वर्गीय खड्का पाँचपोखरी गाउपालिकामा जन्मिएका थिए ।