एजेन्सी । न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ । शुक्रबार राति भएको खेलमा न्युजिल्यान्डलाई पाकिस्तानले ६ विकेटले हराएको हो ।
अबुधाबीमा न्युजिल्यान्डले दिएको २१० रनको लक्ष्य पाकिस्तानले ४० ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । जितसंगै पाकिस्तानले न्युजिल्यान्डसंगको तीन खेलको सिरिजमा १ - १ को बराबरी गरेको छ । पहिलो खेल न्युजिल्यान्डले जितेको थियो ।
पाकिस्तानको जितमा फकहर जमानले ८८ रनको अर्धशतकीय इनिङस खेल्दा बाबर आजमले ४६ रनको योगदान गरे । मोहमद हफ़िज २७ रनमा अविजित रहे । न्युजिल्यान्डका केन विलियमसनले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०९ रन जोडेको थियो ।
न्युजिल्यान्डका लागि रोस टेलरले अविजित ८६ रनको अर्धशतकीय इनिङस खेले । यस्तै हेनरी निकोल्सले ३३ तथा जर्ज वर्करले २२ रन जोडे । पाकिस्तानका सहिन साह अफ्रिदीले ४ तथा हसन अलिले २ विकेट लिए ।