एजेन्सी । घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेष्ट क्रिकेट इंग्ल्यान्डले जितेको छ । शुक्रबार पहिलो टेष्टको अन्तिम दिन घरेलु टोलीलाई २११ रनले हराएर इंग्ल्यान्डले पहिलो टेष्ट आफ्नो पोल्टामा पारेको हो ।
गालेमा इंग्ल्यान्डले दिएको ४२६ रनको लक्ष्यसहित दोस्रो इनिङस थालेको श्रीलंका ८५ ओभर १ बलमा अलआउट हुँदै २५० रनमा समेटियो । श्रीलंकाका एन्जोलो म्याथ्युजले ५३ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यस्तै श्रीलंकाका कुशल मेन्डिसले ४५, कौशल सिल्भा र दिलुरुवान परेराले ३०/३० रन जोडे । इंग्ल्यान्डका मोइन अलीले ४ तथा ज्याक लीचले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङसमा अलआउट हुँदै ३४२ रन जोडेको थियो । इंग्ल्यान्डका बेन फोअक्सले १०७ रनको शतकीय इनिङस खेलेका थिए । पहिलो इनिङसमा श्रीलंकाका दिलुरुवान परेराले ५ विकेट लिएका थिए ।
त्यस्तै पहिलो इनिङमा श्रीलंकालाई २०३ रनमा अलआउट गर्दै दोस्रो इनिङस थालेको इंग्ल्यान्डले ९३ ओभरमा ६ विकेट गुमाएर ३२२ रन जोडेर इनिङस समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङसमा श्रीलंकाका एन्जोलो म्याथ्युजले ५२ रनको अर्धशतकीय इनिङस खेलेका थिए ।
दोस्रो इनिङसमा इंग्ल्यान्डका काटोन केन्ट जेनीङसले अविजित १४६ रनको शतकीय इनिङस खेले । त्यस्तै बेन स्टोक्सले ६५ रनको अर्धशतकीय इनिङस खेले । श्रीलंकाका दिलुरुवान परेरा र रंगना हेराथले २/२ विकेट लिए ।
जितसंगै इंग्ल्यान्डले ३ खेलको टेष्ट सिरिजमा १ - ० को अग्रता बनाएको छ । दोस्रो टेष्ट आगामी बुधबार सुरु हुनेछ ।