एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार) विभिन्न समूहको ८ खेलहरु हुँदैछ । च्याम्पियन्स लिग अन्तर्गत बुधबार समूह 'ए' देखी 'डी' का दुई/दुई खेलहरु हुनेछ ।
च्याम्पियन्स लिगमा आज युरोपका ठुला क्लबहरु बार्सिलोना, लिभरपुल, पेरिस सेन्ट जर्मेन (पिएसजी) लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्दैछन् ।
च्याम्पियन्स लिगमा आज समूह 'बि' मा रहेको स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानसंग प्रतिस्पर्धा गर्नेछ । इन्टर मिलानको घरेलु मैदानमा हुने खेल राति १ः४५ बाट सुरु हुनेछ ।
इन्टरविरुद्ध मैदान उत्रदा बार्सिलोना स्ट्रार स्ट्राइकर लियोनल मेस्सीले मैदान फर्कने सम्भावना रहेको छ । मेस्सी पछिल्लो तीन साता यता मैदान बाहिर रहेका छन् ।
मेस्सी ला लिगा अन्तर्गत सेभियाविरुद्धको खेलमा घाइते भएका थिए । तर, मेस्सीले आजको खेलबाट पुनरागमन गर्ने सम्भावना रहेको बताईएको छ ।
यस समूहमा ९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । इन्टर पनि ६ अंक जोडेर दोस्रो स्थानमा छ । दुई टोलीले हालसम्म २० खेल खेलेका छन् । जसमा बार्सिलोनाले ९ खेलमा जित र ५ खेलमा हार ब्यहोर्नु परेको छ भने ६ खेलमा बराबरी भएको छ ।
यसै समूहको अर्को खेलमा टोटेनहम र पीएसभीले प्रतिस्पर्धा गर्नेछन् । दुई टोलीबीचको खेल १ः४५ मा सुरु हुनेछ ।
यस्तै समूह 'सी' मा रहेको इन्ग्लिश क्लब लिभरपुलले रेड स्टार बेलग्रेडसंग खेल्नेछ । लिभरपुल र बेलग्रेडबीचको खेल राति ११ः४५ मा सुरु हुनेछ । यससमूहमा लिभरपुल ६ अंक जोडेर पहिलो स्थानमा छ । बेलग्रेड १ अंक जोडेर पुछारमा छ ।
यसै समूहको अर्को खेलमा इटालियन क्लब नेपोली र पिएसजीबीच राति १ः४५ बजे प्रतिस्पर्धा हुनेछ । यस समूहमा ५ अंक जोडेको नेपोली दोस्रो स्थानमा रहदा ४ अंक जोडेको पिएसजी तेस्रो स्थानमा छ ।
समूह 'ए' अन्तर्गत क्लब बर्ग र मोनाकोले राति ११ः४० मा प्रतिस्पर्धा गर्नेछन् । यस्तै जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिस क्लब एट्लेटिको मड्रिडसंग खेल्नेछ । खेल राति १ः४५ मा सुरु हुनेछ ।
समूह “डी” अन्तर्गत गालातासारेले शाल्केसंग र लोकमोटिभ मस्कोले पोर्टोसंग खेल्नेछ । दुवै खेल राति १ः४५ मा सुरु हुनेछ ।