काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नवलपरासीमा सोमबार भएको पहिलो क्वाटरफाइनलमा सिएमजी संकटा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
पुलिसलाई विजयी गराउने क्रममा एक मात्रै निर्णायक गोल अभिषेक रिजालले गरेका थिए । उनले खेलको १३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच अभिषेक रिजाल चुनिए ।
अब पुलिसले अन्तिम चारमा आयोजक नवलपरासी- ११ र विरगन्ज युथ एकेडेमीबीचको विजेतासंग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक नवलपरासी र विरगन्ज युथ एकेडेमी बीच हुनेछ ।
प्रतियोगितामा 'ए' डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेको आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले खेलपाटीलाई जानकारी दिए ।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पराजित हुने २ टिमले १/१ लाख पाउने आयोजकले जनाएको छ ।