एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ६ - १ गोल अन्तरले पराजित गरेको हो ।
रहिम स्टर्लिङले दुई गोल गरेपछि घरेलु मैदानमा सिटीले साउथह्याम्पटनलाई आधा दर्जन गोल गरेको हो । यस्तै सिटीको लागि सर्जियो अग्युरो, डेभिड सिल्भा र लोरी सानेले एक एक गोल गरे । सिटीले एक आत्मघाती गोलको उपहार पाएको थियो । साउथह्याम्पटनका वेस्ली होएड्टले आत्मघाती गोल गर्दा ड्यानी इन्ग्सले एक गोल फर्काए ।
सिटीले खेलको छैटौं मिनेटमा वेस्लीको आत्मघाती गोलबाट अग्रता बनाएको थियो । खेलको १२ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीको अग्रता २ - ० को बनाए । १८ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता ३ - ० को बनाए ।
खेलको ३० औं मिनेटमा साउथह्याम्पटनका ड्यानीले गोल गर्दै खेल ३ - १ को स्थितिमा ल्याए । त्यसपछि खेलको ४५ औं मिनेटमा स्टर्लिङले गोल गर्दै पहिलो हाफमा सिटीलाई ४ - १ को अग्रता दिलाए ।
दोस्रो हाफमा सिटीले थप दुई गोल गर्यो । खेलको ६७ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ५ - १ को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा सानेले गोल गर्दा सिटीले ६ - १ को फराकिलो जित निकालेको हो ।
जितसंगै सिटी ११ खेलबाट २९ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ । दोस्रो स्थानको लिभरपुलको २७ अंक छ । पराजित साउथह्याम्पटन ७ अंक जोडेर १६ औं स्थानमा छ ।