काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब च्यासल युथ क्लब राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नवलपरासीमा आइतबार भएको खेलमा 'बि' डिभिजन क्लब ब्वाइज युनियनलाई २ - १ गोल अन्तरले पराजित गर्दै च्यासलले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
नेपाली राष्ट्रिय टिमका युवा स्ट्राइकर बिमल घर्ती मगरसहित मैदान उत्रिएको च्यासलको लागि सिको रदेबेन्द्र तामाङले एक एक गोल गरे । ब्वाइजका रमेश बर्तौलाले एक गोल फर्काए । खेलमा च्यासलका देबेन्द्र म्यान अफ दि म्याच चुनिए ।
अब च्यासलले क्वाटरफाइनलमा अर्को 'ए' डिभिजन क्लब न्युरोड टिम एनआरटीसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत सोमबार नेपाल पुलिस क्लब र साबिकको बिजेता सिएमजी संकटाबीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा 'ए' डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेको आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले खेलपाटीलाई जानकारी दिए ।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पराजित हुने २ टिमले १/१ लाख पाउने आयोजकले जनाएको छ ।