पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल प्रवेशको लागि एलिमिनेटर (प्ले अफ) खेलमा अहिले चितवन राइनोज र हुलास काठमाडौं रोयल्सले प्रतिस्पर्धा गरिरहेका छन् ।
पोखरा रंगशालामा ज्ञानेन्द्र मल्लको काठमाडौंले टस जितेको छ । र, पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पारस खड्काको चितवन राइनोज फिल्डिङको लागि केहि बेरमा मैदान उत्रनेछ ।
आज प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछन् । चितवन र काठमाडौंबीचको प्ले अफ खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । किनकी दुवै टोली उच्च लयमा देखिएका छन् ।
चितवन लिगको दोस्रो र काठमाडौं तेस्रो हुँदै प्ले अफमा छनोट भएको हो । लिगको पहिलो चरणको पाँच खेलमा ३ जित र २ हारसहित चितवन र काठमाडौंले समान ६/६ अंक जोडेका थिए । तर, नेट रन रेटको आधारमा चितवन दोस्रो र काठमाडौं तेस्रो स्थानमा रहेको थियो ।
विजेताले मंगलबार हुने फाइनलमा घरेलु टोली पोखरा पल्टनसंग खेल्नेछ । पोखरा ५ खेलबाट ३ जित र २ हारसहित ६ अंक जोडेपनि शीर्ष स्थानमा रहदै फाइनलमा पुगिसकेको छ ।
चितवन र काठमाडौंलाई नेट रन रेटमा पछि पार्दै पोखराले फाइनलमा स्थान बनाएको हो । पीपीएलमा शीर्ष टोलीले सिधै फाइनल खेल्ने र तेस्रो तथा चौथो टोलीले फाइनल प्रवेशका लागि प्ले अफ खेल्नुपर्ने नियम रहेको छ ।
सुरुवातमा जम्न नसकेको चितवन पछिल्लो समय लयमा रहेको छ । सुरुवाती २ खेल गुमाएको चितवनले त्यसपछि लगातार ३ खेलमा जित निकाल्यो । लिग चरणमा काठमाडौंलाई पराजित गरेको चितवन थप उच्च मनोबलसहित मैदान उत्रनेछन् ।
यता, काठमाडौंले भने लिग चरणको हारको बदला लिंदै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । पछिल्लो खेलमा खेलाडीहरु लयमा देखिनु काठमाडौंको राम्रो पक्ष रहेको छ ।