एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको बोरुसिया डर्टमण्डले जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले वुल्फबर्गलाई १ - ० ले हराएको हो ।
डर्टमण्डलाई जित दिलाउन मार्को रिउसले निर्णायक गोल गरे । खेलको २७ औं मिनेटमा रिउसले गोल गर्दै डर्टमण्डलाई ३ अंक दिलाएका हुन् ।
जितसंगै डर्टमण्डले १० खेलबाट २४ अंक जोडेको छ । वुल्फबर्गले १० खेलबाट १२ अंक जोडेको छ ।
यता, साबिकको विजेता वायर्न म्युनिख भने बराबरीमा रोकिएको छ । वायर्नले फ्रेईबर्गसंग १ - १ गोलको बराबरी खेलेका हुन् ।
घरेलु मैदानमा सेर्गीले ८० औं मिनेटमा गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । तर, ८९ औं मिनेटमा लुकास होलेरले गोल गर्दै फ्रेईबर्गलाई खेलमा फर्काए ।
बराबरीसंगै दोस्रो स्थानमा रहेको वायर्नले १० खेलबाट २० अंक जोडेको छ । १३ अंक जोडेर फ्रेईबर्ग लिगको दशौं स्थानमा छ ।