पोखरा । सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा हुलास काठमाडौं रोयल्सले घरेलु टोली पोखरा पल्टनलाई जितका लागि १०४ रनको सामान्य लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको ज्ञानेन्द्र मल्लको काठमाडौंले १९ ओभर १ बलमा अलआउट हुँदै १०३ बनाउन सक्यो । काठमाडौंले दिएको १०४ रनको लक्ष्यसहित शरद भेषवाकरको पोखराले केहि बेरमा ब्याटिङ थाल्ने छ ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३१ रन जोडे । यस्तै अमित श्रेष्ठले २१ रन जोड्दा बसन्त रेग्मीले अविजित १९ रन जोडे । त्यस्तै पवन सरार्फले १२ रन बनाए । काठमाडौंलाई सस्तैमा समेट्न पोखराका ललित नारायण राजवंशीले ३ विकेट लिए । यस्तै मोहमद नाभिद र राशिद खानले २/२ विकेट लिए ।
आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण रहेको छ । समूह चरणको अन्तिम खेलअघि काठमाडौं शीर्ष स्थानमा छ । काठमाडौंले ४ खेलबाट ६ अंक जोडेको छ । र, आज पोखरालाई हराउन सके काठमाडौंले सिधै फाइनल यात्रा तय गर्नेछ ।
तेस्रो स्थानको पोखराले ४ खेलबाट ४ अंक जोडेको छ । पोखराले काठमाडौंलाई हराएर उसको प्ले अफ पक्का हुनेछ ।