एजेन्सी । जर्मन क्लब इन्ट्याच्ट फ्रान्कफर्टका फरवार्ड लुका जोभिक बुन्डेस लिगाको एकै खेलमा पाँच गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् ।
शुक्रबार राति भएको खेलमा फोर्चुना डसेलडोर्फविरुद्ध पाँच गोल गर्दै सर्बियन फरवार्ड जोभिक उक्त कीर्तिमान बनाएका हुन् । २० बर्षीय जोभिकले फ्रान्कफर्टबाट हालसम्म ३६ खेलमा १३ गोल गरिसकेका छन् ।
उक्त खेलमा फ्रान्कफर्टले डसेलडोर्फलाई ७ - १ ले हराएको थियो ।
घरेलु मैदानमा भएको खेलमा फ्रान्कफर्टका लागि थप दुई गोल सेबस्टेन हाल्लेरले गरेका थिए । डसेलडोर्फका डोडी लुकबाकोईले एक गोल फर्काएका थिए ।
जितसंगै फ्रान्कफर्टले ८ खेलबाट १३ अंक जोडेर छैटौं स्थान हासिल गरेको छ । पराजित डसेलडोर्फ पाँच अंक जोडेर लिगको पुछारमा छ ।