एजेन्सी । बेल्जियमका फरवार्ड इडेन हाजार्डले इन्ग्लिश क्लब चेल्सीमा आफु खुसी रहेको बताएका छन् ।
स्पेनिस क्लब रियल मड्रिड जाने हल्ला चलिरहेको बेला हाजार्डले आफुलाई चेल्सीमा कुनै समस्या नरहेको र खुसी रहेको बताएका हुन् ।
'यहाँ कुनै समस्या छैन । म क्लब र टिमसंग धेरै खुसी छु । म यहाँ रहदा मेरो परिवार खुसी छन्,' हाजार्डले स्काई स्पोर्ट्ससंग भनेका छन् ।
पछिल्लो समय चेल्सीले सम्झौता नवीकरण गर्न चासो नदेखाएको कारण हाजार्ड रियल जाने हल्ला चलेको थियो । बेल्जियमका कप्तान समेत रहेका हाजार्डको चेल्सीसंगको सम्झौता अझै २ बर्ष बाँकी रहेको छ ।
हाजार्डले चेल्सी छाड्ने संकेत भने गरेका छन् । हाजार्डले रियलबाट खेल्नु आफ्नो बच्चाको सपना रहेको बताईसकेका छन् । तर, हाजार्डले स्पेन नगए आफुलाई चेल्सीमा रहन समस्या नहुने समेत बताए ।
'म स्पेन गईन भने मलाई समस्या हुने छैन । मलाई यहाको समर्थक मन पर्छ । मलाई लाग्छ समर्थकले पनि मलाई मन पराउछ,' २७ बर्षीय हाजार्डले भने,'भबिष्यमा के हुन्छ । म खुसी हुने नै हुनेछु ।'
हाजार्ड सन् २०१२ मा चेल्सी आएका थिए । हाजार्ड यो सिजन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् । हाजार्ड गत महिना प्रिमियर लिग अफ दि मन्थ समेत चुनिएका थिए ।