एजेन्सी । फुटबलमा करियर खोजिरहेका ट्रयाक एण्ड फिल्डका चर्चित धावक उसेन बोल्टले माल्टाको शीर्ष डिभिजन क्लब भलेट्टा एफसीले गरेको प्रस्ताव अस्वीकार गरेका छन् ।
आठ पटकको ओलम्पिक च्याम्पियन ३२ बर्षिय बोल्टलाई भलेट्टा एफसीले अनुबन्धको लागि प्रस्ताव गरेको थियो । क्लबले बोल्टलाई २ बर्षको लागि अनुबन्ध गर्न औपचारिक प्रस्ताव गरेको थियो ।
तर, बोल्टका एजेन्टले भलेट्टाको प्रस्तावलाई बोल्टले चासो नदिएको बताएको छ । 'माल्टाको प्रस्तावलाई बोल्ट पछ्याउन चाहदैन,' एजेन्ट रिकी सिम्सले भनेका छन् ।
यस्तै उनले बोल्टका लागि यस्ता धेरै अवसरहरु आईरहेको बताएका छन् ।
बोल्ट व्यावसायिक फुटबलमा करियर बनाउन अहिले अष्ट्रेलियामा रहेका छन् । बोल्ट अष्ट्रेलियाको शीर्ष डिभिजन क्लब सेन्ट्रल कोष्ट मरिनर्समा प्रशिक्षण गरिरहेका छन् । गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा बोल्टले म्याकर्थर साउथ वेष्टविरुद्ध दुई गोल समेत गरेका थिए ।
बोल्टले प्रस्ताव अस्वीकार गरेपछि भलेट्टा एफसीका सिईओ घास्टोन स्लिमोनले बोल्टका लागि क्लबको ढोका सधै खुल्ला रहने बताए ।
बोल्ट गत अगष्टबाट सेन्ट्रल कोष्ट मरिनर्स क्लबमा रहदै आएका छन् । बोल्टलाई सेन्ट्रल कोष्टले अनिश्चितकालीन समयको लागि प्रशिक्षणको मौका दिएको थियो ।
गत बर्ष ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका बोल्टले पछिल्लो समय जर्मन क्लब बोरुसिया डर्टमण्डबाट प्रशिक्षण लिएका थिए । यस्तै उनले नर्वे र दक्षिण अफ्रीकाका क्लबमा समेत ट्रायल र अभ्यास गरेका थिए ।
गत बर्षको अगस्टमा विश्व च्याम्पियनसिप खेलेपछि बोल्टले ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका थिए । ह्यामस्ट्रिंङ्ग भएपछि लण्डनमा सम्पन्न च्याम्पियनसिपमा बोल्ट आफ्नो फेबरेट दौड १०० मिटरमा स्वर्ण जित्न असफल भएका थिए । उनले कास्य पदक मात्र जितेका थिए ।
शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले ओलम्पिक खेलकुदमा मात्र ८ पटक स्वर्ण पदक जितेका छन् । बोल्ट ट्रयाक एण्ड फिल्डमा हालसम्मकै सफल धावक समेत हुन् । त्यस्तै उनको नाममा १०० मिटरमा विश्व किर्तिमान रहेको छ ।