एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका मिडफिल्डर सेस फेब्रिग्यासले गिनिज बुक अफ दी वर्ल्ड रेकर्डमा दोस्रो पटक नाम दर्ता गराउन सफल भएका छन् ।
स्पेनिस मिडफिल्डर फेब्रिग्यासले कम खेलमा सर्वाधिक असिस्ट (पास उपलब्ध) गराउने खेलाडी बन्दै गिनिज बुकमा नाम लेखाएका हुन् ।
फेब्रिग्यासले प्रिमियर लिगको ७४ खेलमा १०० असिस्ट गर्दै गिनिज बुकमा नाम लेखाएका हुन् । फेब्रिग्यासले म्यानचेस्टर युनाइटेडका पुर्व स्टार रायन गिग्सलाई पछि पार्दै यो कीर्तिमान आफ्नो बनाएको हो ।
गिनिज बुकमा नाम लेखाएपछि फेब्रिग्यासले यो आफ्नो लागि सबैभन्दा गर्वको क्षण रहेको बताए । 'म छिटो, बलियो र लचकदार छैन । म धेरै उफ्रन सक्दिन,' फेब्रिग्यासले भने, 'तर, यो कीर्तिमान मेरो करियरको प्रतिष्ठित र गर्वाम्बित कार्य मध्ये एक हो । किनभने यो मेरो काम हो र मैले राम्रो गरे ।'
फेब्रिग्यासले दोस्रो पटक गिनिज बुकमा नाम लेखाउन सफल भएका हुन् । यसअघि फेब्रिग्यासले ३० सेकेण्डमा सबैभन्दा धेरै भली पास उपलब्ध गराउनेको रेकर्ड बनाएका थिए । फेब्रिग्यासले जेमी रेडन्यापसंग संयुक्त ३० सेकेण्डमा १५ पटक भली पास उपलब्ध गराएर गिनिजमा नाम लेखाएका थिए ।