एजेन्सी। फुटबलमा करियर खोजिरहेका ट्रयाक एण्ड फिल्डका चर्चित धावक उसेन बोल्टलाई युरोपमा फुटबल खेल्ने अवसर मिलेको छ ।
आठ पटकको ओलम्पिक च्याम्पियन ३२ बर्षिय बोल्टलाई माल्टाको शीर्ष डिभिजनको क्लब भलेट्टा एफसीले अनुबन्धको लागि प्रस्ताव गरेको छ । अन्तर्राष्ट्रिय समचार संस्थाका अनुसार माल्टाको क्लबले बोल्टलाई २ बर्षको लागि अनुबन्ध गर्न औपचारिक प्रस्ताव गरेको जनाएको छ ।
तर, जमैकन धावक बोल्टले यस बिषयमा बोलेका छैनन् । बोल्ट व्यावसायिक फुटबलमा करियर बनाउन अहिले अष्ट्रेलियामा रहेका छन् ।
बोल्टले अष्ट्रेलियाको शीर्ष डिभिजन क्लब सेन्ट्रल कोष्ट मरिनर्समा प्रशिक्षण गरिरहेका छन् । गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा बोल्टले म्याकर्थर साउथ वेष्टविरुद्ध दुई गोल समेत गरेका थिए ।
भलेट्टा एफसीका सिईओ घास्टोन स्लिमोनले आफुले बोल्टलाई लामो समयबाट पछ्याएको उल्लेख गर्दै उनलाई अनुबन्ध गर्न सके इतिहास लेखिने बताएका छन् ।
'बोल्टले बेईजिङ ओलम्पिकमा कीर्तिमान भङ्ग गरे । मैले पछिल्लो साढे एक बर्षबाट उनको फुटबल करियरलाई पछ्याएको छु,' सिईओ स्लिमोनले भने, 'हामी डिसेम्बर १३ मा सुपर कपको फाइनल खेल खेल्दैछौं । जुन हामी जित्ने छौ । र, तपाई कल्पना गर्न सक्नु हुनेछ कि बोल्टले सुपर कपको ट्रफी बोक्नेछन् । जुन १० बर्षपछि बोल्टले बेईजिङको कीर्तिमान भङ्ग गर्नेछन् ।'
यस्तै सिईओ स्लिमोनले बोल्टसंगको अनुबन्ध पैसासंग तुलना नहुने बताए । 'यो केबल पैसाको लागि हुने छैन । यो इतिहासको बारे हो,' सिईओ स्लिमोनले भने ।
बोल्ट गत अगष्टबाट सेन्ट्रल कोष्ट मरिनर्स क्लबमा रहदै आएका छन् । बोल्टलाई सेन्ट्रल कोष्टले अनिश्चितकालीन समयको लागि प्रशिक्षणको मौका दिएको थियो ।
गत बर्ष ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका बोल्टले पछिल्लो समय जर्मन क्लब बोरुसिया डर्टमण्डबाट प्रशिक्षण लिएका थिए । यस्तै उनले नर्वे र दक्षिण अफ्रीकाका क्लबमा समेत ट्रायल र अभ्यास गरेका थिए ।
गत बर्षको अगस्टमा विश्व च्याम्पियनसिप खेलेपछि बोल्टले ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका थिए । ह्यामस्ट्रिंङ्ग भएपछि लण्डनमा सम्पन्न च्याम्पियनसिपमा बोल्ट आफ्नो फेबरेट दौड १०० मिटरमा स्वर्ण जित्न असफल भएका थिए । उनले कास्य पदक मात्र जितेका थिए ।
शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले ओलम्पिक खेलकुदमा मात्र ८ पटक स्वर्ण पदक जितेका छन् । बोल्ट ट्रयाक एण्ड फिल्डमा हालसम्मकै सफल धावक समेत हुन् । त्यस्तै उनको नाममा १०० मिटरमा विश्व किर्तिमान रहेको छ ।