काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाको समर्थनमा नेपालमा रहेको क्लब बार्सा नेपालले तेस्रो नैकाप गोल्डकपको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा बार्सा नेपालले वि आर स्टार फुटबल क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्यो ।
बार्सा नेपाललाई जित दिलाउन शिव श्रेष्ठले दुई गोल गरे । यस्तै सिद्दार्थ कार्की र रोनिश राजबाहकले एक एक गोल गरे । वि आर स्टारका नबिन कर्माचार्यले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच वि आर स्टारका अनिल गुरुङ भए ।

पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको बार्सा नेपालले पहिलो सहभागितामै उपाधि जितेको हो । उपाधिसंगै बार्सा नेपालले ३ लाख नगद प्राप्त गरेको छ । उपविजेता वि आर ब्रदर्सले १ लाख ५० हजार प्राप्त गर्यो ।
प्रतियोगितामा सर्वोकृष्ट खेलाडी वि आर ब्रदर्सका कप्पु कन्दङ्वा चुनिए । उनले १० हजार प्राप्त गरे ।
यस्तै उत्कृष्ट गोलकिपर बार्साका राजु तामाङ, उत्कृष्ट डिफेन्डर ब्लुबेन क्लबका राज शाही चुनिए । उनीहरुले १०/१० हजार प्राप्त गरे । प्रतियोगितामा सर्वाधिक गोलकर्ता शिव श्रेष्ठ, रोनिश राजबाहक र नबिन कर्माचार्य चुनिए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट टिम बन्दै ब्लुबेन फुटबल क्लबले २० हजार नगद प्राप्त गरेको छ ।



