एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्व विजेता फ्रान्सले आइसल्याण्डसंग बराबरी खेलेको छ । बिहिबार राति भएको खेलमा फ्रान्स र आइसल्याण्डले २ - २ गोलको बराबरी खेलेका हुन् ।
घरेलु मैदानमा दुई गोलले पछि परेको स्थितिमा अन्तिम पाँच मिनेट भित्र दुई गोल गर्दै फ्रान्सले बराबरी खेलेको हो । खेलको ३० औं मिनेटमा बिर्कीर बर्नासनले गोल गर्दै आइसल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ५८ औं मिनेटमा कारी अर्नासनले गोल गर्दै आइसल्याण्डको अग्रता दोब्बर बनाएका थिए । तर, खेलको ८६ औं मिनेटमा आइसल्याण्डका होलमार ओइरेनले आत्मघाती गोल गर्दा फ्रान्समा खेलमा फर्किएको थियो ।
त्यसपछि फ्रान्सको बराबरीमा केलियन एमबाप्पे नायक बने । खेलको ९० औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल २ - २ को बराबरीमा ल्याएका थिए । आइसल्याण्डका खेलाडी ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा सहज गोल गर्दै एमबाप्पेले फ्रान्सलाई हारबाट जोगाएका थिए ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नै कोलम्बियाले अमेरिकालाई ४ - २ ले हराएको छ ।