काठमाडौं । आज आइतबार, अगस्ट २९ । सायद आज त्यो दिन हुन सक्नेछ, जुन दिन लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि लिग वानमा डेब्यु गर्न सक्ने छन् । विपक्षी टिम हुनेछ, रेइम्स । अहिलेसम्म पीएसजी मेस्सी विना पनि उत्कृष्ट रहेको छ, त्यसैले त उसले सुरुआती तीन खेलमा ट्रोयस, स्ट्रसबर्ग र ब्रेस्टलाई हराएको छ ।
पेरिस आएयता प्रशिक्षक मउरिसो पोचेटिनोको रेखदेखमा मेस्सीले १५ दिन खुबै पसिना बगाइसकेका छन् । अब खेल्न तयार छन् । तर त्यस अगाडि दुई महत्त्वपूर्ण प्रश्न भने सबैको अगाडि तेर्सिएका छन् । त्यसमध्ये पहिलो प्रश्न, के मेस्सीले वेञ्चबाट डेब्यु गर्नेछन् त ? सायद यस्तै हुनेछ । कोपा अमेरिकापछि उनले अहिलेसम्म मैदानमा उत्रेर खेलेका छैनन् ।

बरू उनले लामो समय बिदा मनाए । त्यसैले धेरै सम्भावना छ, उनले खेलको अन्तिम ३० मिनेट खेल्नेछन् । अब दोस्रो प्रश्न, मेस्सीले पीएसजीमा कुन ‘पोजिसन’ बाट खेलाउने छन् त ? हुन सक्छ, प्रशिक्षक पोचेटिनोले मेस्सीलाई अग्रपंक्तिको दायाँबाट खेलाउने छन्, नेयमार बायाँतर्फ हुनेछन् ।
रियल मड्रिड जाने हल्लाबाट गुज्रिरहेका केयलिन एमबापेले बीचबाट खेल्ने अवसर पाउने छन्, भलै उनको भविष्य अहिलेसम्म अनिश्चित छ । अहिले तत्कालन मउरो इकार्डी घाइते छन्, त्यसैले हुन सक्छ, मेस्सीले बीचबाट पनि खेल्न पाउने छन् । खासमा पोचेटिनोसामु मेस्सीलाई कसरी प्रयोग गर्ने हो भनेर त्यसबारे पर्याप्त विकल्प छन् ।
हामी सबैको काम भने मेसीको डेब्युका लागि ब्यग्रले प्रतीक्षा गर्ने नै हो ।
–मार्काको सहयोगमा ।