काठमाडौं । इंग्लिस प्रिमियर लिगमा कुन टिमको प्रदर्शन कस्तो हुनेछ, त्यसको पहिलो भागमा हामीले पाँच क्लबको छोटकरीले विश्लेषण गरिसक्यौं र ती थिए, आर्सनल, एस्टन भिल्ला, ब्रेन्टफोर्ड, ब्राइटन र बर्नली ।
मिररको सहयोगमा तयार पारिएको यस आलेखमा वर्णानुक्रम अनुसार अब पालो, चेल्सी, क्रिस्टल प्यालेस, एभरटन, लिड्स युनाइटेड र लेस्टर सिटीको ।
चेल्सी
पछिल्लो चार वर्षमा चेल्सीले उपाधिका लागि सबैभन्दा बलियो चुनौती यसै सिजन प्रस्तुत गर्न सक्नेछ । सिधा भन्दा चेल्सी यसपल्ट लिग उपाधिका लागि सबैभन्दा बलियो प्रत्यासीमध्ये एक हो । आखिरमा चेल्सी युरोपेली च्याम्पियन पनि हो । गत सिजन चेल्सीको सुरुआत राम्रो रहेन् । त्यसैले टिमको व्यवस्थापनमा आए, थोमस टुचेल । उनी आएपछि चेल्सीको प्रदर्शन नै फेरियो । अब उनकै नेतृत्वमा चेल्सीले अझ राम्रो गर्नेछ त ? यसको उत्तर सायद धेरै हदसम्म रोमेलु लुकाकुको प्रदर्शनमा पनि भर पर्नेछ ।
क्रिस्टल प्यालेस
प्रत्येक सिजन क्रिस्टल प्यालेसका लागि युरोपमा खेल्ने सपना हुन्छ र प्रत्येक अवसरमा यो अन्तिम सयममा टुट्छ पनि । यसपल्टको कथा पनि त्यही हो, क्रिस्टल प्यालेसले फेरि एकपल्ट युरोपमा खेल्न लागि प्रयास गर्नेछ । सायद यसका लागि उसलाई लिग भन्दा पनि कम बढी सहज हुन सक्नेछ । अहिले टिमका नयाँ प्रशिक्षक रहेका छन्, प्याट्रिक भिएरा । यी आर्सनल लेजेन्डले व्यवस्थापकका रूपमा अहिलेसम्म सम्झनलायक केही पनि गरेका छैनन्, त्यसैले उनी आफै एउटा चुनौती रहेका छन् ।
एभर्टन
सायद झिनो सम्भावना मान्न सकिन्छ, एभर्टनले युरोपमा खेल्ने अवसर मिलाउने । एभर्टनका लागि यसको बाटो लिग भन्दा पनि कप नै बढी हुन सक्नेछ । गुडसन पार्कमा समर्थक एक प्रकारले अन्यौलमा छन्, आफ्नो व्यवस्थापक राफेल बेटिनेजलाई लिएर । एभर्टनको खेलको विश्लेषण गर्ने हो उसको सबैभन्दा ठूलो विशेषता हो, सबैको धेरै विश्वास, तर अन्त्यमा शून्य उपलब्धी । यसपल्ट यही सत्यलाई तोड्ने सबैभन्दा ठूलो चुनौती हुनेछ, एभर्टन र बेनिटेज दुवैलाई । र, टिममा राम्रा खेलाडीको कुनै कमी छैन्, यो पनि सत्य हो ।
लिड्स युनाइटेड
गत सिजन माथिल्लो डिभिजनमा उक्लेर एक समय लिड्स युनाइटेडले तहल्का नै मच्चाएको थियो । तर अन्त्यमा लिड्स नवौं स्थानमा रह्यो । यसपल्ट पनि लिगको शीर्ष १० भित्र लिड्स पर्छ भने त्यो उपलब्धी नै हुने । लिड्सलाई लिएर समस्या के छ भने उपलब्ध टिमको आधारमा उसले आफू माथि रहेका टिमलाई खासै चुनौती दिन सक्दैन, त्यसैले यो मिड टेबल टिमनै रहनेछ । टिमको यसपल्ट सबैभन्दा बलियो पक्ष रहनेछ, प्रतिभाशाली प्याट्रिक बामफोर्ड आउनु ।
लेस्टर सिटी
लेस्टर सिटीले पछिल्लो दुई सिजन लगातार च्याम्पियन्स लिग छनोटको नजिक पुगेर पनि अन्तत: छनोट हुन सकेन् । यो निकै पीडादायी स्थिति थियो । तर यी दुवै अवसरमा टिमको प्रदर्शन आफैमा उत्साहनजक थियो । यसपल्ट पनि लेस्टरको लक्ष्य भनेको लिग तालिकाको शीर्ष चारमा प्रवेश नै हो । उसका लागि यसपल्ट युरोपा लिग जितेर च्याम्पियन्स लिगमा जाने बाटो पनि छ । अहिलेको टिममा प्रतिभाशाली खेलाडीको कुनै कमी छैन्, त्यसैले लेस्टरबाट धेरै आश गर्न सकिन्छ ।