काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डको नियुक्ति, तलबविहीन जिम्मेवारी, स्वतन्त्र रूपमा काम गर्न नदिएको र कप्तान छनोट विवादले एन्फा भित्रको संस्थागत राजनीति उजागर गरिरहेको छ।
अझ त्यो विवाद सेलाउन नपाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले अर्को विवादको आगो सल्काएका छन्।
साफ यु–२० महिला च्याम्पियनसिप खेल्न बंगलादेश जान लागेका खेलाडीलाई मंगलबार विदाइ गर्दै उनले मुख्य प्रशिक्षक यमप्रसाद गुरुङलाई भने,‘कप्तान यहीँदेखि तोकेर पठाउनुहोस्।’
यो निर्देशन सामान्य होइन। यो त व वाइल्डमाथि लक्षित कटाक्ष थियो। उज्बेकिस्तानमा भएको एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलियाको पहिलो खेलमै कप्तानी विवाद चुलिएको थियो।
टिम म्यानेजर बृन्दा देवानले मिडफिल्डर रेनुका नगरकोटेलाई कप्तान बनाएर म्याच कमिस्नरलाई नाम पठाइसकेकी थिइन्। तर, अन्ततः कप्तानीको आर्मब्यान्ड स्ट्राइकर सावित्रा भण्डारी साम्बाले लगाइन्।
यो निर्णय प्रशिक्षक वाइल्डको व्यक्तिगत चाहना मै भएको आरोप लगाइएको छ। त्यसपछि वाइल्ड र देवानबीच बोलचाल नै बन्द भएको बताइन्छ।
अध्यक्ष नेम्वाङले प्रशिक्षक गुरुङलाई दिएको सन्देश सामान्य थिएन। उनले खुलेरै भने,‘इन्दु बैनी (इन्दु दुवाल टिम म्यानेजर) ले त्यहाँ पुगेर नाम माग्दा ढिलो गर्ने, अनि तपाईं (प्रशिक्षक गुरुङ) चाहिँ हेर्नै मन नपराउने नहोस्।’
उनको उक्त टिप्पणीमा अनावश्यक रूपमा प्याट्रिकलाई जोडेका छन्। उनी संस्थागत प्रक्रियामा भन्दा पनि व्यक्तिमाथि प्रहार गरिरहेका छन्। त्यो पनि सार्वजनिक समारोहमै।
यद्यपि, प्याट्रिक भने बेल्जियम फर्किसकेका छन्। पछिल्लो विवादका कारण उनी नेपाल फर्किने या नफर्किने अन्योलमा छ।