काठमाडौं । नेपाली फुटबल विकासको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ग्रासरुट फुटबल कार्यक्रम सुरु गरेको छ । नेपाली फुटबलको तल्लो तहबाट विकास गर्न एन्फाले मंगलबारबाट रुपमा ग्रासरुट फुटबल कार्यक्रम सुरु गरेको हो ।
एन्फाले आफ्ना ४५ सदस्य जिल्लामा ग्रासरुट फुटबल कार्यक्रम सुरु गरेको हो । कार्यक्रम अन्तर्गत जिल्ला तहबाटै फुटबल विकासको लागि एन्फाले विविध कार्यक्रमहरु बनाएको छ । सबै जिल्लाको ग्रासरुट कार्यक्रम भदौ २७ बाट औपचारिक रुपमा सुरु हुनेछ ।
ग्रासरुट फुटबल गतिविधि बढाउन, मैदानको मर्मत लगायतको कार्य गर्न एन्फाले ४५ वटै जिल्लामा आर्थिक सहयोग र खेलकुद सामग्रीहरु प्रदान गरेको छ ।
एन्फाले सुगम जिल्लालाई ५ लाख नगद र एक लाख बराबरको खेलकुद सामग्री प्रदान गरेको छ । यस्तै दुर्गम जिल्लाको लागि एन्फाले १० लाख नगद र १ लाख बराबरीको खेल सामग्री प्रदान गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमकाबीच एन्फाले ग्रासरुट कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा ४५ जिल्लाका पदाधिकारीलाई रक्षामन्त्री ईश्वर पौडेलले खेल सामग्री प्रदान गरेका थिए ।
फिफाको फुटबल विकास कार्यक्रम अन्तर्गत एन्फाले ग्रासरुट कार्यक्रम अघि बढाएको हो ।