एजेन्सी । युएईएफए नेसन्स लिग फुटबलको 'ड्र' सार्वजनिक भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले सहभागी ५५ राष्ट्रलाई चार श्रेणीमा विभाजन गर्दै 'ड्र' सार्वजनिक गरेको हो ।
युएईएफएले निकालेको 'ड्र' अनुसार लिग 'ए' 'बी' र 'सी' मा १६ टिम रहेका छन् । लिग 'डी' मा भने ७ टिम रहेका छन् ।
युएईएफएले निकालेको 'ड्र' अनुसार साविक विजेता पोर्चुगल लिग 'ए' अन्तर्गतको समूह ३ मा परेको छ ।
पोर्चुगलको समूहमा फ्रान्स, स्विडेन र क्रोएसिया रहेका छन् । यस समूहलाई ग्रुप अफ डेथ मानिएको छ ।
यस्तै समूह १ मा नेदरल्यान्ड्स, इटाली, बोस्निया र पोल्याण्ड रहेका छन् ।
समूह २ मा इंग्ल्यान्ड, बेल्जियम, डेनमार्क र आइल्याण्ड रहेका छन् ।
समूह ४ मा स्विजरल्याण्ड, स्पेन, युक्रेन र जर्मनी रहेका छन् ।
हरेक लिगको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउने छन् । पुछारमा रहने टिम अर्को लिगमा रेलिगेसनमा पर्ने छन् ।
हरेक टोलीले होम एन्ड अवेको आधारमा खेल्नेछन् । लिगको पहिलो चरणको खेल सेप्टेम्बर ३ देखि ५ सम्म हुनेछ । फाइनल सन् २०२१ को जुनमा हुनेछ ।
