काठमाडौं । टोखास्थित गजराज जोशी ट्रष्टले 'बी' डिभिजन क्लब टोखा भगवती क्लबलाई खेल पोशाक प्रदान गरेको छ ।
मंगलबार आयोजित एक कार्यकममा ट्रष्टका अध्यक्ष एवं क्लबका सल्लाहकार समाजसेवी मनिष राज जोशीले क्लबका २० खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई २ लाख ५० हजार रकम बराबरको एडिडास र लिनिङ्गका खेल पोशाक वितरण गरेका हुन् ।
गत वर्ष दोश्रो स्थान प्राप्त गरेको भगवतीले यस सिजनमा १ जित र १ हार ब्यहोरेको छ । बुधबार आरसिटीसँग प्रतिस्पर्धा गर्न लागेको भगवती क्लबका खेलाडीहरुलाई हौशला प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा खेलाडीहरुलाई उक्त पोशाक वितरण गरिएको हो ।
खेलाडीहरुलाई उत्साहित गर्दै अध्यक्ष जोशीले खेलाडीहरुले उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्नु पर्ने र क्लबले बी डिभिजन प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्न सकेमा खेलाडी, प्रशिक्षक र ब्यवस्थापकका लागि ठुलै प्याकेज प्रदान गर्ने बताए ।
कार्यक्रममा काठमाडौं जिल्ला खेलकुद बिकास समितिका पूर्व उपाध्यक्ष दामोदर भट्टराई बद्रिले खेलाडीहरुलाई प्रतिस्पर्धा जित्न हौसला प्रदान गर्दै प्रतिस्पर्धा जित्नुमात्र नभई खेलाडीहरुको भविष्यको पनि निर्णय हुने बताए ।
खेलाडीलाई हौसला प्रदान गर्न भएको कार्यक्रममा फुटबल बिष्लेशक, एन्फाका पूर्व अन्तराष्ट्रि विभाग प्रमुख एवं क्लबका सल्लाहकार नविन पाण्डेको पनि उपस्थिती रहेको थियो ।