एजेन्सी । इटालियन सिरी 'ए' फुटबल कुनै समय विश्वकै उत्कृष्ट लिगमा गनिन्थ्यो । ९० को दशकमा इटालियन सिरी ए लिग निकै उत्कर्षमा रहेको थियो । त्यसबेला इटालियन लिग खेल्न विश्वका खेलाडी लायालित हुने गर्थे ।
तर, समयले कोल्टे फेर्यो । ९० को दशकपछि इटालियन फुटबल म्याच फिक्सिङको भुमरीमा फस्यो । जसको कारण इटालियन सिरी ए लिग र इटालियन फुटबल तहसनहस जस्तै बनेको थियो । यो बीचमा स्पेनिस ला लिगा र इन्ग्लिश प्रिमियर लिगमा राज गर्यो ।
पछिल्लो समय भने इटालियन सिरी ए फुटबल पुनः जुर्मुराउदै आइरहेको छ । म्याच फिक्सिङको घटना आउन छाडेको छ । क्लबहरु सशक्त बन्दै आइरहेको छ । स्टार खेलाडीहरुको नजर विस्तारै इटालियन क्लबमा पर्दै गएको छ ।
अहिलेको पुस्ताका सर्वाधिक स्टार खेलाडी पोर्चुगलका क्रिष्टियानो रोनाल्डो यसै सिजन सिरी ए च्याम्पियन युभेन्ट्स गए । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड रोनाल्डोको उक्त सरुवा सिरी फुटबलको नयाँ क्रान्ति जस्तै हो । किनकी युभेन्ट्सले मोटो रकम तिरेर विश्वस्तरीय खेलाडी अनुबन्ध गरेको छ ।
बनिरह्दैतालियाँ सिरी ए लिग पछिल्लो समय युरोपियन फुटबलमा सशक्त बनिरहदा स्पोर्ट्स मेलले सिरी ए फुटबलको सर्वकालीन महान टिम (ड्रिम टिम) सार्वजनिक गरेको छ । स्पोर्ट्स मेलले सार्वजनिक गरेको ड्रिम टिममा अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोना देखि ब्राजिलियन लिजेण्ड रोनाल्डोसम्म अटाएका छन् ।
स्पोर्ट्स मेलले सार्वजनिक गरेको ड्रिम टिममा ९० को दशकमा उत्कृष्ट कहलिएका खेलाडीहरुको बाहुल्यता रहेको छ । कार्लो एन्सेलोटीको प्रशिक्षणमा रहेको ड्रिम टिमको गोलकिपरमा इटाली तथा युभेन्ट्सका पुर्व गोलकिपर डिनो जोफ रहेका छन् ।
यस्तै टोलीको डिफेन्स लाइन एसी मिलानबाट खेलेका ब्राजिलक पुर्व डिफेन्डर काफु, इटाली तथा एसी मिलानकै पुर्व डिफेन्डरहरु फ्रान्को बरेसी, एलेससान्ड्रो नेष्टा र पावोलो माल्दिनी रहेका छन् ।
टोलीको मिडफिल्डरमा इटाली तथा युभेन्ट्सका पुर्व प्ले मेकर मार्को टारडेल्ली, इन्टर मिलानका सान्ड्रो मज्जालो र युभेन्ट्स रोबर्टो बाग्गोई रहेको छ ।
ड्रिम टिमको फरवार्ड लाइन अर्जेन्टिना तथा नेपोलीका डिएगो म्यारोडोना, ब्राजिल तथा इन्टर मिलानका रोनाल्डो र नेदरल्याण्ड तथा एसी मिलानका पुर्व फरवार्ड मार्को भान बस्टेन रहेका छन् ।
सिरी ए फुटबलको अल टाइम ग्रेटेष्ट ११ :
गोलकिपर - डिनो जोफ
डिफेन्डर - काफु, फ्रान्को बरेसी, एलेससान्ड्रो नेष्टा, पावोलो माल्दिनी
मिडफिल्डर - मार्को टारडेल्ली, सान्ड्रो मज्जालो, रोबर्टो बाग्गोई
फरवार्ड - डिएगो म्यारोडोना, रोनाल्डो, मार्को भान बस्टेन
