काठमाडौं । नेपाल भुटानमा जारी साफ यू-१५ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ ।
बिहिबार भएको सेमिफाइनलमा भारतसंग २ - १ गोल अन्तरले पराजित हुँदै नेपालको उपाधि जित्ने लक्ष्य सकिएको हो ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भारतलाई कडा टक्कर दिएपनि नेपाल पराजित हुन पुग्यो । भारतलाई जित दिलाउन ल्याण्डा कोम र क्रिटिना देवीले समान १/१ गोल गरिन् । नेपालकी रजनी थोकरले एक गोल फर्काइन् ।
पहिलो हाफको ३१ औं मिनेटमा कोमले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाईन् । खेलको ३७ औं मिनेटमा नेपालकी रजनीले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याईन् । तर,खेलको ७५ औं मिनेटमा क्रिटिनाले गोल गर्दै भारतलाई २ - १ को जित दिलाईन् ।
जितसंगै भारत फाइनलमा प्रवेश गरेको छ । भारतले अब फाइनलमा भुटान र बंगलादेशबीचको बिजेतासंग खेल्ने छ ।
समूह बी मा रहेको नेपाल समूह उपबिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । भारत समूह ए को बिजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।
यसअघि नेपालले समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ४ - ० ले हराएको थियो । तर, नेपाल दोस्रो खेलमा बंगलादेशसंग ३ - ० ले पराजित भएको थियो ।