एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा सिटी क्रिष्टल प्यालेससँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
सिटीका लागि सर्जियो अग्युरोले दुई गोल गरे । क्रिष्टलका सेन्क टोसुनले एक गोल गरे । यस्तै सिटीका फर्नान्डिन्होले एक आत्मघाती गोल गरे ।
इदिहाद स्टेडियममा ३९ औं मिनेटमा टोसुनको गोलबाट क्रिष्टलले सुरुवाती अग्रता बनाएको थियो । तर, ८२ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई खेलमा फर्काए ।
खेलको ८७ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ९० औं मिनेटमा फर्नान्डिन्होले आत्मघाती गोल गर्दा सिटी २-२ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य भयो ।
बराबरीसँगै सिटीले २३ खेलमा ४८ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा रहेको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा १३ अंकले पछि रहेको छ ।
क्रिष्टल २३ खेलमा ३० अंक जोडेर नवौं स्थानमा रहेको छ ।