एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न आठ खेलहरु हुँदैछ ।
लिगमा शनिबार साविक विजेता म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल, टोटेनहम लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
साविक विजेता सिटीले घरेलु मैदानमा क्रिस्टल प्यालेसको सामना गर्ने छ । खेल नेपाली समय अनुसार राति ८:४५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा सिटी सहज जित निकाल्दै शीर्ष स्थानको लिभरपुलविरुद्ध दबाब बढाउन चाहन्छ । दोस्रो स्थानको सिटीले २२ खेलमा ४७ अंक जोडेको छ । सिटी लिभरपुल भन्दा १४ अंकले पछि रहेको छ ।
क्रिस्टल भने घरेलु टोलीलाई स्तब्ध बनाएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । २९ अंक जोडेको क्रिस्टल नवौं स्थानमा रहेको छ ।
चेल्सीले न्युकासल युनाइटेडसँग उसैको मैदानमा खेल्नेछ । खेल राति ११:१५ मा सुरु हुनेछ ।
लिगको चौंथो स्थानको चेल्सी जित निकाल्दै शीर्ष तीन क्लबसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ । चेल्सीले ३९ अंक जोडेको छ भने न्युकासल २६ अंकसहित १३ औं स्थानमा रहेको छ ।
आर्सनललेघरेलु मैदानमा सेफिल्ड युनाइटेडसँग खेल्नेछ । टोटेनहमले वाट्फोर्डसँग उसैको मैदानमा खेल्नेछ ।
यस्तै एभर्टनले वेष्ट ह्यामसँग खेल्दा साउथह्याम्पटनले वुल्भ्स, नर्विचले बर्नेमाउथ तथा ब्राइटनले एस्टन भिल्लाको सामना गर्ने छ ।