काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा सोमबार पुलिसले दोस्रो हार व्यहोर्यो ।
दशरथ रंगशालामा भएको लिगको छैटौं खेलमा पुलिस न्युरोड टिम एनआरटीसँग १–० गोल अन्तरले पराजित भयो । पुलिसको दोस्रो हारमा एनआरटीका दर्शन गुरुङले ७६ औं मिनेटमा निर्णायक गोल गरे ।
एनआरटीसँगको हारपछि निराश देखिएका पुलिसका प्रशिक्षक अनन्त राज थापाले आफ्नो क्लबको खेल लिगकै सबैभन्दा झुर खेल भएको प्रतिक्रिया दिए । एनआरटीले राम्रो खेलेर जितेको नभई आफ्नो क्लबले झुर खेलेको कारण जित निकालेको उनको भनाई थियो ।
‘आज एनआरटीले राम्रो खेलेर जितेको हैन । हामीले झुर खेलेर उसले जित हात पार्याे,’ प्रशिक्षक थापाले भने ।

भेट्रान खेलाडी सुमन सुवेदीलाई कप्तानी दिएको पुलिसले भेट्रान स्ट्राइकर जुमानु राई र मिडफिल्डर भोला सिलवाललाई बेन्चमा राखेको थियो ।
तर, प्रशिक्षक थापाले आफुले आशा गरेको खेलाडीले नै राम्रो प्रदर्शन गर्न नसकेको बताए ।
‘तीन अंकको लागि आएका थियौं । सोचेको खेलाडीले राम्रो गर्न सकेनन् । एनआरटी खासै राम्रो टिम हैन । तर, खेलाडीहरु मानसिक रुपमै कमजोर हुँदा गाह्रो भयो,’ चौथो स्थानमा उक्लने मौका गुमाएपछि थापाले भने ।
एपीएफविरुद्ध पुलिसले खेलको २५ औं मिनेटमै लेफ्ट ब्याक रविन श्रेष्ठलाई गुमाएको थियो । साढे दुई वर्षपछि मैदान फर्किएका रविन पुरानो चोटमा समस्या आएपछि पहिलो हाफमै मैदान छोडेका थिए ।
एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले पनि पुलिसले खराब प्रदर्शन गर्दा आफ्नो टिमले जित हात पार्न सकेको प्रतिक्रिया दिए ।
‘पुलिसले पनि भयङर खेल्न सकेन । हामीले पनि राम्रो खेल्न सकेनौं । अभ्यासमा गरेजस्तो खेलाडीले मैदानमा खेल्न सकेनन् । तीन अंक आयो यसैका खुसी हुनुपर्ने ठाउँछ ।’ शाक्यले ।
प्रशिक्षक शाक्यले पुलिस लगायत अन्य टिमले एक नाशको खेल खेल्न नसक्नु नेपाली फुटबलकै दुर्भाग्य भएको समेत बताए । शाक्यले नयाँ खेलाडी नहुँदा पुसिलले जुमानु राई, भोला सिलवाल र सुमन सुवेदी मैदान उतार्दा एक दिन आफु स्वयम मैदान उत्रनुपर्ने अवस्था रहेको समेत बताए ।
एनआरटीसँगको हारसँगै पुलिस लिगको सातौं स्थानमा झरेको छ । ६ खेल खेलेको पुलिसले दुई खेलमा जित, दुई खेलमा हार र दुई खेलमा बराबर गरेको छ ।
पुलिसलाई हराउँदै दोस्रो जित निकालेको एनआरटी भने छैटौं स्थानमा उक्लिएको छ । एनआरटीको १० अंक रहेको छ ।