काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको ४१ औं खेलमा विभागीय क्लब एपीएफ र च्यासस युथ भिड्दैछन् ।
दशरथ रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ ।
च्यासलले लिगमा बलियो टिम बनाएपनि नतिजा दिन सकेको छैन । पछिल्लो खेलमा करियरको १ सय १ औं गोल पुरा गरेका सन्तोषले अघिल्लो खेलमा पुलिसविरुद्व दुई गोल गर्दै लयमा आएको संकेत गरेका छन् ।
लिगको छैटौं खेलमा दुबै टिम दोस्रो जित निकाल्न चाहन्छन् ।
यसअघि दुबै टिमले एक–एक जित हात पारेका छन् । एक खेलमा जित, दुईमा बराबरी र दुईमा हार ब्यहोरेको च्यासल तालिकाको दशौँ स्थानमा छ ।
एपीएफ एक जित, एक बराबरी र तीन हारका साथ १३ औं स्थानमा छ ।
सोमबारको खेलमा जित हात पारे च्यासल आठौं स्थानमा उक्लने छ । तालिकाको आठौं स्थानमा उक्लिने अवसर च्यासललाई समेत छ ।
बलियो च्यासलविरुद्ध एपीएफ महत्वपूर्ण तीन अंक लिने दाउमा छ ।
प्रशिक्षक राजेन्द्र तामाङ च्यासलविरुद्ध खेल निकैनै महत्वपुर्ण मान्छन् ।
‘खेल निकैनै महत्वपुर्ण छ । टप खेलनै हुन्छ । बलियो च्यासलविरुद्ध सचेत भएर खेल्छौं ।’ उनी भन्छन् ।
पहिलो खेलमै मनाङसँग २–० गोल अन्तरले पराजित एपीएफ दोस्रो खेलमा हिमालयन शेर्पासँग १–१ को बराबरीमा रोकिएको थियो ।
तेस्रो खेलमा थ्री स्टारसँग १–० गोल अन्तरले पराजित उसले चौथो खेलमा सरस्वतीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । अन्तिम खेलमा भने एपीएफले संकटासँग ४–२ गोल अन्तरले पराजित भएको थियो ।
च्यासलविरुद्व एपीएफले फरवार्ड आशिष लामालाई गुमाउने छ । दोहोरो पहेलो कार्डका कारण उनी च्यासलविरुद्ध खेल्ने छैनन् ।
गत सिजन दुई टिमले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।
यता, पछिल्लो खेलमा जुझारु प्रर्दशन गरेको च्यासल सन्तोषको कीर्तिमानी गोलसंगै उत्साहित छ ।
प्रशिक्षक बाल गोपाल साहुखल एपीएफविरुद्ध स्पष्ट तीन अंक लिने बताउँछन् ।
‘खेलाडीहरु लयमा आएका छन् । अबको खेल जित्दै अगाडी बढ्छौं ।’ उनी भन्छन् ।
च्यासलका अमिर श्रेष्ठ र चेतन कुमार थारुले अघिल्लो खेल गुमाएका थिए । दोहरोे पहेलो कार्डका कारण प्रतिबन्धमा परेका उनीहरु एपीएफविरुद्ध भने मैदान उत्रनेछन् ।
पहिलो खेलमा संकटलाई २–० गोल अन्तरले पराजित गरेपछि च्यासलले जित निकाल्न सकेको छैन ।
च्यासल जावलाखेल युथसँग २–० र एनआटीसँग २–१ गोल अन्तरले पराजित भएको थियो । उसले मछिन्द्रसँग १–१ र पुलिससँग २–२ गोलको बराबरी खेलेको थियो ।