काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुदैछन् ।
पहिलो खेलमा पुलिस र एनआरटी तथा दोस्रो खेलमा च्यासल र एपीएफबीच प्रतिस्पर्धा हुदैछ ।
दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
दिनको पहिलो खेलमा पुलिस र एनआरटी मध्यान्न १२ बजे भिड्नेछन् ।
च्यासल र एपीएफ दोस्रो खेलमा दिउँसो ३ बजे आमने सामने हुनेछन् ।
पुलिस र एनआरटीलाई सुधारको मौका
लिगको छैटौं स्थानको नेपाल पुलिस क्लब र नवौं स्थानको न्यूरोड टिम एनआरटी आमुने सामुने हुदैछन् ।
खेल दशरथ रंगशालामा मध्यान्न १२ बजे सुरु हुनेछ । दुबै टिमले लिगमा दुई–दुई खेल जितेका छन् ।
पुलिसले दुई खेलमा जित, दुईमा बराबरी र एक खेलमा हार ब्यहोरेको छ ।
गत सिजन पुछारमा रहेर ऋण अंक सहित सिजनको सुरुवात गरेको एनआरटीले दुई खेलमा जित, एकमा बराबरी र दुईमा हार ब्यहोरेको छ ।
पुलिस सोमबार हुने पहिलो खेलमा एनआरटीलाई पराजित गर्दै चौथो स्थानमा उक्लने दाउमा हुनेछ ।
एनआरटी पनि पुलिसलाई पराजित गर्दै छैठौं स्थानमा उक्लन चाहन्छ ।
दुवै टिमलाई जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसर प्राप्त छ ।
लिग तालिकामा पुलिसको ८ अंक रहेको छ भने एनआरटीको ५ अंक मात्रै छ ।
लिगको छैटौं खेलमा दुबै टिम स्पष्ट तीन अंकका लागि खेल्नेछन् ।
पुलिसका प्रशिक्षक अनन्त राज थापा एनआरटी राम्रो टिम भएपनि स्पष्ट तीन अंकको लक्ष्यमा छन् । ‘एनआटी राम्रो टिम हो । पछिल्लो समय पुलिस लयमा आएको हुँदा जित निकाल्नकै लागि खेल्नेछौं ।’ उनले भने ।
अन्तिम खेलमा पुलिस दुई पटक लिएको अग्रता जोगाउन नसक्दा च्यासलसँग २–२ को बराबरीमा रोकिएको थियो ।
दोहोरो पहेलो कार्डका कारण तेज तामाङले एनआरटीविरुद्वको खेल गुमाउनेछन् । पुलिसका स्ट्राइकर भरत शाह एनआरटीसँगको खेलमा फर्कनेछन् । चोटका कारण मैदान बाहिर रहेका उनी पहिलो पटक लिगमा उत्रने तयारी गरेका हुन् ।
सरस्वती र संकटालाई पराजित गरेको पुलिसले हिमालयन शेर्पा र च्यासलसँग बराबरी खेल्दै अंक बाँडेको थियो । लिगको दोस्रो खेलमा पुलिस भने थ्री स्टारसंग पराजित बनेको थियो ।
गत सिजन पुलिसले एनआरटीलाई ३–० गोल अन्तरले हराएको थियो ।
यता, एनआरटी पनि पुलिसलाई पराजित गर्दै तेस्रो जित आत्मासाथ गर्ने लक्ष्यमा छ । प्रशिक्षक राजुकाजी शाक्य बलियो पुलिसविरुद्ध अंक नगुमाउने लक्ष्यमा रहेको बताउँछन् ।
‘पुलिस बलियो छ । खेल्न गाह्रौ हुन्छ । तर राम्रो खेल्दै जित निकाल्ने लक्ष्यमा हुनेछौं ।’ गतसिजन च्यासल युथ क्लब हेरेका शाक्य भन्छन् ।
पहिलो खेलमै सरस्वती युथलाई ४–० ले पराजित गरेको एनआरटीले तेस्रो खेलमा च्यासल युथलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । उसले संकटा र मछिन्द्रसँग समान १–० ले पराजित हुँदा जावलाखेल युथसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
पुलिसविरुद्ध एनआरटीले आफ्ना दुई महत्वपुर्ण खेलाडी गुमाउने छ । दोहोरो पहेलो कार्डका कारण उसले डिफेन्डर आन्द्रे थेरी वियिक र सरोज तामाङलाई गुमाउने भएको हो ।
एपीएफविरुद्ध प्रभाव जमाउने च्यासलको लक्ष्य
लिगको ४१ औं खेलमा विभागीय क्लब एपीएफ र च्यासस युथ भिड्दैछन् ।
दशरथ रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ ।
च्यासलले लिगमा बलियो टिम बनाएपनि नतिजा दिन सकेको छैन । पछिल्लो खेलमा करियरको १ सय १ औं गोल पुरा गरेका सन्तोषले अघिल्लो खेलमा पुलिसविरुद्व दुइ गोल गर्दै लयमा आएको संकेत गरेका छन् ।
लिगको छैटौं खेलमा दुबै टिम दोस्रो जित निकाल्न चाहन्छन् ।
यसअघि दुबै टिमले एक–एक जित हात पारेका छन् । एक खेलमा जित, दुईमा बराबरी र दुईमा हार ब्यहोरेको च्यासल तालिकाको दशौँ स्थानमा छ ।
एपीएफ एक जित, एक बराबरी र तीन हारका साथ १३ औं स्थानमा छ ।
सोमबारको खेलमा जित हात पारे च्यासल आठौं स्थानमा उक्लने छ । तालिकाको आठौं स्थानमा उक्लिने अवसर च्यासललाई समेत छ ।
बलियो च्यासलविरुद्ध एपीएफ महत्वपूर्ण तीन अंक लिने दाउमा छ ।
प्रशिक्षक राजेन्द्र तामाङ च्यासलविरुद्ध खेल निकैनै महत्वपुर्ण मान्छन् ।
‘खेल निकैनै महत्वपुर्ण छ । टप खेलनै हुन्छ । बलियो च्यासलविरुद्ध सचेत भएर खेल्छौं ।’ उनी भन्छन् ।
पहिलो खेलमै मनाङसँग २–० गोल अन्तरले पराजित एपीएफ दोस्रो खेलमा हिमालयन शेर्पासँग १–१ को बराबरीमा रोकिएको थियो ।
तेस्रो खेलमा थ्री स्टारसँग १–० गोल अन्तरले पराजित उसले चौथो खेलमा सरस्वतीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । अन्तिम खेलमा भने एपीएफले संकटासँग ४–२ गोल अन्तरले पराजित भएको थियो ।
च्यासलविरुद्व एपीएफले फरवार्ड आशिष लामालाई गुमाउने छ । दोहोरो पहेलो कार्डका कारण उनी च्यासलविरुद्ध खेल्ने छैनन् ।
गत सिजन दुई टिमले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।
यता, पछिल्लो खेलमा जुझारु प्रर्दशन गरेको च्यासल सन्तोषको कीर्तिमानी गोलसंगै उत्साहित छ ।
प्रशिक्षक बाल गोपाल साहुखल एपीएफविरुद्ध स्पष्ट तीन अंक लिने बताउँछन् ।
‘खेलाडीहरु लयमा आएका छन् । अबको खेल जित्दै अगाडी बढ्छौं ।’ उनी भन्छन् ।
च्यासलका अमिर श्रेष्ठ र चेतन कुमार थारुले अघिल्लो खेल गुमाएका थिए । दोहरोे पहेलो कार्डका कारण प्रतिबन्धमा परेका उनीहरु एपीएफविरुद्ध भने मैदान उत्रनेछन् ।
पहिलो खेलमा संकटलाई २–० गोल अन्तरले पराजित गरेपछि च्यासलले जित निकाल्न सकेको छैन ।
च्यासल जावलाखेल युथसँग २–० र एनआटीसँग २–१ गोल अन्तरले पराजित भएको थियो । उसले मछिन्द्रसँग १–१ र पुलिससँग २–२ गोलको बराबरी खेलेको थियो ।