एजेन्सी । रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।
आईतबार राति शहरी प्रतिद्धन्दी एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियलले सुपरकपको उपाधि हात पारेको हो ।
सर्जियो रामोसको गोलसंगै रियल पेनाल्टी सुटआउटमा ४–१ ले विजयी बन्यो ।
निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।
एट्लेटिको मड्रिडका औल निगुएज र थोमस मार्टे पेनाल्टीमा चुकेका थिए ।
रियलले १० खेलाडीमा सिमिति रहेर खेलको अन्त्य गरेको थियो ।
अतिरिक्त समयमा अल्भारो मोराटालाई फल गरेपछि फेडरिको भल्भर्डे रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

जोआओ फिलिक्सले पहिलो हाफमा केही राम्रो अवसर पाएका थिए । तर उनको गोल गर्न सकेनन् ।
रियलले दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको थियो । तर सर्बियन फरवार्ड लुका जोभिकको प्रहार बतासिएको थियो ।
रियलले ११ औ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको हो ।
प्रतियोगिता नयाँ ढाँचामा खेलाईएको थियो । स्पेनिस लिगको शीर्ष दुई टिम र कोपा डेल रेका फाईनल खेलेका दुई टिमलाई सुपरकपमा समावेश गरिएको हो ।
रियलले गत सिजन तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । बार्सिलोना लिग विजेता र कोपा डेल रेको फाईनल खेलेको टिम बनेपछि रियल प्रतियोगिता खेल्न छानिएको हो ।