एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
आइतबार भएको खेलमा सिटीले एस्टन भिल्लालाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
एस्टनको मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै रियाद महरेजले दुई गोल गर्दा ग्राबियल जिससले एक गोल गरे ।
एस्टनका अनवर एल घाजीले एक गोल फर्काए ।
खेलको १८ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । २४ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता २-० को बनाए ।

खेलको २८ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीको अग्रता ३-० को बनाए । त्यसपछि ४५ औं मिनेटमा जिससले गोल गर्दा पहिलो हाफमै सिटी ४-० ले अघि रह्यो ।
दोस्रो हाफमा भने सिटीले दुई गोल गर्यो । खेलको ५७ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ५-० को बनाए । यससँगै अर्जेन्टिनाका फरवार्ड अग्युरोले प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने इंग्ल्यान्ड बाहिरका खेलाडीको कीर्तिमान बनाए ।
एस्टनविरुद्ध दुई गोल गरेसँगै अग्युरोले प्रिमियर लिगमा आफ्नो गोल संख्या १ सय ७६ बनाए । अग्युरोले फ्रान्सका थिएरी हेनरीको १ सय ७५ गोलको कीर्तिमान तोडेका हुन् ।
खेलको ८१ औं मिनेटमा अग्युरोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा सिटीलाई ६-० को अग्रता दिलाए ।

प्रिमियर लिगमा अग्युरोको यो करियरको १२ औं ह्याट्रिक हो । यससँगै अग्युरोले प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी एलन शेयररको कीर्तिमान समेत तोडेका छन् । यस अघि शेयररले ११ ह्याट्रिकको कीर्तिमान बनाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा एस्टनका घाजीले पेनाल्टीमा एक गोल फर्काएपनि सिटीले ६-१ को जित निकाल्यो ।
जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले २२ खेलमा ४७ अंक जोडेको छ । तर, सिटी शीर्ष स्थानको लिभरपुल भन्दा अझै १४ अंकले पछि छ । लिभरपुलको ६१ अंक रहेको छ ।
एस्टन २१ अंकसहित १८ औं स्थानमा रहेको छ । एस्टन रेलिगेसन क्षेत्रमा रहेको छ ।

