काठमाडौं । विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै एपीएफले लिगमा पहिलो जित निकालेको हो ।
एपीएफलाई जित दिलाउन आशिष लामाले दुई गोल गरे । सरस्वतीका विनोद केसीले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एपीएफले अग्रता बनाएको थियो ।
खेलको ६३ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाए ।
त्यसको एक मिनेट नबित्दै सरस्वतीका विनोदले एक गोल फर्काएपनि एपीएफ २-१ ले विजयी भयो । एपीएफविरुद्धको गोल सरस्वतीको लिगमा पहिलो गोल समेत हो ।
खेलमा एपीएफका गोलकिपर अमृत चौधरी म्यान अफ दि म्याच चुनिए ।
जितसँगै एपीएफले ४ खेलमा ४ अंक जोडेको छ । एपीएफ लिगको १० औं स्थानमा रहेको छ ।
सरस्वतीको यो लगातार चौंथो हार हो । सरस्वती अंक विहीन रहेको छ ।

के भन्छन् प्रशिक्षक ?
पहिलो तीन अंक जोडेपछि एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले रेलिगेसनबाट बच्न टिमलाई अब सहज भएको बताए । उनले सरस्वती आफनै स्तरको टिम भएकोले पनि सहज भएको बताए ।
'आज खेल जित्नु पर्ने दबाब थियो । बराबरीले हामीलाई रेलिगेसनबाट बच्न कठिन हुने थियो,' प्रशिक्षक तामाङले भने, 'तीन अंक आयो । राम्रो भयो । रेलिगेसन क्षेत्रबाट बचियो । अर्को खेलबाट अब सहज हुनेछ ।'
सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले गोल गर्न नसक्दा पराजित भएको बताए । उनले टिमको रेलिगेसनबारे अहिले नसोचेको समेत बताए ।
'गोल नहुँदा गार्हो भयो । खेलाडीले राम्रै खेले तर, दुर्भाग्य हार्न पुग्यौ । रेलिगेसनबारे अझै सोचेको छैनौँ,' उनले भने ।

एपीएफ प्लेईङ सेट -
अमृत कुमार चौधरी,प्रविन स्याङतान, सुदीप शिख्राकार, नविन लामा,रमेश दंगाल, सन्तोष कटवाल, राजन गुरुङ, बुद्धि मान राई, आकाश बहादुर मगर,प्रदिप लामा, हरि कार्की
सरस्वती प्लेईङ सेट -
राज शाही, दिपेश श्रेष्ठ,कृष्ण गोपाल श्रेष्ठ, प्रदीप भण्डारी, आन्द्रे एक्वेम, तिर्थ बहादुर बस्नेत, सुशन लामा, रमेश तामाङ, मनिष थापा,दिपक भुसाल, अबेल एमवान्किना