काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा आर्मीले थ्री स्टार क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे ।
अनन्त तामाङको कप्तानीमा मैदान उत्रिएको थ्री स्टारविरुद्ध आक्रामक खेल खेलेपनि पहिलो हाफमा आर्मीले गोल गर्न सकेन् । नियमित कप्तान बिक्रम लामा अघिल्ला दुई खेलमा पहेलो कार्ड पाएको कारण टिम बाहिर रहेका छन् ।

खेलको तेस्रो मिनेटमा नवयुग श्रेष्ठले मिलाएको पासमा कप्तान भरत खवासको कडा प्रहार थ्री स्टारका विदेशी गोलकिपर प्रिसोले बचाए ।
खेलको १८ औं मिनेटमा नवयुगको प्रहार थ्री स्टारका खेलाडीले गोल लाइनबाट बचाउदा आर्मी अग्रता बनाउन चुक्यो । थ्री स्टारका किपरलाई बिट गरेर नवयुगले प्रहार गरेको बल करण राउतले गोल लाइन नजिकैबाट क्लियर गरे ।
१९ औं मिनेटमा कप्तान भरत खवास वान भर्सेस वानमा गोल गर्न चुके । उनको प्रहार प्रिसोले बचाए ।
यस्तै २१ औं मिनेटमा थ्री स्टारका विदेशी खेलाडी हम्जादको प्रहार आर्मीका जर्ज प्रिन्स कार्कीले क्लियर गरे । २४ औं मिनेटमा सुशील राईको कर्नरमा अनन्तको हेड पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
तर, दोस्रो हाफमा आर्मीले दुई गोल गर्यो । जसमा प्रतिबन्धमा परेका मिडफिल्डर सन्तोषको प्रदर्शन उच्च रह्यो ।
खेलको ५४ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाए । उनले एक्रोब्याटीक सटमा गोल गरेका थिए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा सन्तोषले फ्रिकिकमा गोल गर्दै आर्मीलाई २-० को जित दिलाए । एन्फाको ४५ दिनको प्रतिबन्ध फुकुवा भएसँगै मैदान फर्किएका सन्तोषले पहिलो खेलमै गोल गरे ।
यस्तै खेलको ९० औं मिनेटमा थ्री स्टारले पेनाल्टीमा एक गोल फर्काउने मौका गुमाएको थियो । थ्री स्टारका रुपेश केसीको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले बचाए ।

जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोडेको छ । र, लिगमा तेस्रो जित निकालेको आर्मी तेस्रो स्थानमा समेत उक्लिएको छ ।
थ्री स्टारले ४ खेलमा ७ अंक जोडेको छ ।लिगमा पहिलो हार व्यहोरेको थ्री स्टार लिगको छैटौं स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
जितपछि आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपानेले उपाधि होडका लागि यस खेलको अंक महत्वपूर्ण रहेको बताए ।
'हाम्रो हतियार नै खेलाडीको शारीरिक क्षमता हो । जसले आज फाइदा भयो । तर, पहिलो हाफमा धेरै अवसर गुमायौं । दोस्रो हाफमा सदुपयोग भयो,' प्रशिक्षक न्यौपानेले भने, 'लिगको उपाधिका लागि यस्तो खेलमा अंक लिनुपर्छ । सन्तोषको पुनरागमनले सजिलो भयो । आवश्यक खेलाडी आएको छ ।'
थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले आर्मीसँगको खेल खेल्न नसकेको बताए । उनले टिममा कप्तान बिक्रमको अभाव खड्किएको समेत बताए ।
'आर्मीको अगाडी खेल्न सकेनौं । पेश नमिल्दा निरिह भयौं । हाम्रो फरवार्ड लाइनबाट जे हुनु पर्थ्यो त्यो भएको छैन,' उनले भने, 'बिक्रम टिममा नहुदा गार्हो भयो । आर्मी धेरै बलियो देखियो ।'

आर्मी प्लेईङ सेट -
युद्ध शाही, नवयुग श्रेष्ठ, सेसेहाङ आङदेम्बे, विकास खवास, विकास तामाङ,सुमन अर्याल,विकेश कुथु, टेक बहादुर बुढाथोकी, भरत खवास, जर्ज प्रिन्स कार्की,सन्तोष तामाङ
थ्री स्टार प्लेईङ सेट -
अनन्त तामाङ, करण राउत,प्रविन कुमार सैंजु, प्रिसो,एरिनोसो, हाज्मत, मिच्छेन तामाङ, रुपेश केसी, सुशान श्रेष्ठ, सुशील राई, अशोक खवास