काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।
बुधबार भएको खेलमा संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै पुलिसले लिगमा दोस्रो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसलाई जित दिलाउन दुवै गोल सुमन लामाले गरे ।
संकटाका अमित तामाङले एक गोल फर्काए ।

खेलको १५ औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । सुमनको प्रहार अमितलाई लाग्दै गोल भएको थियो ।
त्यसको केहि मिनेट पछि संकटा खेलमा फर्कियो । खेलको १८ औं मिनेटमा अमितले नै पेनाल्टीमा गोल गर्दै संकटालाई खेलमा फर्काए । पुलिसका डिफेन्डरले डिबक्स भित्र ह्याण्ड गरेपछी संकटाले पेनाल्टी पाएको थियो ।
तर, खेलको ३३ औं मिनेटमा सौजन राईको पासमा सुमनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २-१ को जित दिलाए ।
त्यस बाहेक खेलमा दुवै टोलीले अन्य गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
खेलको सातौं मिनेटमा संकटाका सुवास गुरुङको फ्रिकिक पुलिसका गोलकिपर शत्रुधन चौधरीले सहजै बचाए । दशौं मिनेटमा पुलिसका तेज तामाङले फ्रिकिकमा कप्तान सुमन सुवेदीको हेड प्रहार संकटाका गोलकिपर विनय श्रेष्ठले सहजै बचाए ।
२६ औं मिनेटमा संकटाका भारतीय खेलाडी रोयले करिब ३५ यार्डबाट गरेको प्रहार पुलिसका गोलरक्षक शत्रुधनले नै विफल बनाए । यस्तै ३७औं मिनेटमा संकटाका अमितको फ्रिकिक पुलिसका गोलकिपर शत्रुधनले पन्च गर्दै गोल हुनबाट जोगाए ।
यस्तै ६० औं मिनेटमा संकटाका भारतीय खेलाडी रोयको कडा प्रहार पुलिसका गोलकिपर शत्रुधनले मुश्किलले बचाए ।
खेलको ८६ औं मिनेटमा भोला सिलवालको कर्नरमा सुमन सुवेदीको हेड संकटाका गोलकिपर विनयले पन्च गर्दै पोष्ट बाहिर पठाएका थिए ।
खेलमा सुमन म्यान अफ दि म्याच चुनिए ।
जितसँगै पुलिसले ४ खेलमा ७ अंक जोडेको छ । र, पुलिस लिगको पाँचौ स्थानमा उक्लिएको छ ।
संकटाले ४ खेलमा ४ अंक जोडेको छ । संकटाको यो दोस्रो हार हो । संकटा लिगको दशौँ स्थानमा छ ।
के भन्छन् प्रशिक्षक ?
पुलिसका मुख्य प्रशिक्षक अनन्त थापाले समयमा गोल निसक्दा जित सहज भएको बताए ।
'समयमै गोल निस्किदा सजिलो भयो । १-१ गोलको बराबरी हुँदा केहि दबाब भएको थियो । विपक्षिलाई याद गरेर खेल्यौं जसले सजिलो भयो,' थापाले भने, 'शारीरिक रुपमा उनीहरु बलिया थिए । त्यसैले हल्का लिएका थिएनौ । यो जितले अबको दिनमा सहज हुनेछ ।'
संकटाका प्रशिक्षक विजय महर्जनले खेलाडीले सोचेको जस्तो नखेलेको बताए ।
'सोच्दै नसोचेको खेल भयो । सोचेको जस्तो खेल भएन । खेलाडीलाई मानसिक दबाद भएको जस्तो देखियो । जित आवश्यक थियो तर भएन । विदेशी खेलाडीले पनि राम्रो खेल्न सकेनन् । पुलिसले राम्रो खेल्यो,' महर्जनले भने ।
पुलिस प्लेईङ सेट -
अजित भण्डारी, हेम तामाङ, मान बहादुर परियार,निर कुमार राई, शत्रुधन चौधरी, सुमन लामा, तेज तामाङ, प्रवेश कुँवर,सौजन राई, सुमन सुवेदी, रबिन श्रेष्ठ
संकटा प्लेईङ सेट -
अमित तामाङ, अर्नेष्ट टेम्पी, रोशन पहारी, लक्ष्मण रुचाल, मेसौके जिन मारी, सरोज दाहाल, सुवास गुरुङ, विनय श्रेष्ठ, अजया मार्टीन्स, बिष्णु सुनार,प्रलाद रोय
नोट - यस अघिको समाचारमा पुलिसको पहिलो गोल आत्मघाती गोल लेखिएपनि एन्फाले उपलब्ध गराएको म्याच रिपोर्ट अनुसार पहिलो गोल सुमन लामाको नाममा रहेको हुँदा सच्चाईएको छ । - सम्पादक