काठमाडौं । गत सिजन लिगको नवौं खेलमा थ्री स्टार र त्रिभुवन आर्मी भिडेका थिए । आर्मीविरुद्धको त्यो खेल लगभग थ्री स्टारले जितिसकेको अवस्था थियो ।
थ्री स्टारका अफिसियल र फ्यान खेल जितेको खुसीयाली मनाउन सुरु गरिसकेका थिए । ९० मिनेटको खेल १–० ले सकिएको थियो ।
सायद थ्री स्टारलाई खेलनै जितियो भन्ने लागेको थियो ।
तर कथा त्यतिमै सकिने थिएन ।
शनिबारको दिन बिभागको ट्रेनिङबाट छुट्टी मनाउन भनेर जर्ज प्रिन्स कार्की खेल्न आएका थिए । उनैले खेलकाे अन्तिम समयमा डिबक्सको ठिक बाहिरबाट पाएको फ्रिकिकमामा गोल गर्दै थ्री स्टारलाइ निराश बनाएका थिए । खेल एक एकको बराबरीमा सकियो । तालिकामा थ्री स्टार संकटा भन्दा तल झर्याे । त्यसपछि थ्री स्टारले आफुलाई लिग तालिकामा माथि चढाउने सकेन ।
लिग जित्ने लक्ष्य बनाएका आर्मी र थ्री स्टार लिगको चौथो चरणमै आमने सामने हुदैछन् ।
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिगको २७ औं खेलमा दुवै टिम भिड्दैछन् । दुवै टिमको लक्ष्य स्पष्ट तीन अंक बटुल्दै तालिकामा सुधार गर्नु हुनेछ ।
लिगको तीन खेलमा दुई जित र एक बराबर खेलेको तेस्रो स्थानको थ्री स्टारको ७ अंक छ ।
दुई जित र एक खेलमा हार ब्यहोरेको पाँचौ स्थानको आर्मीको ६ अंक छ ।
आर्मीविरुद्ध जित हात पार्दै थ्री स्टारलाई दोस्रो स्थानमा उक्लने अवसर रहेको छ ।
गोल संख्यामा सुधार गर्न सकेमा थ्री स्टार शीर्ष स्थानमा समेत फर्कन सक्छ । त्यसैले पनि थ्री स्टार आर्मीविरुद्व फराकिलाे जित निकाल्न चाहन्छ ।
थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसी आर्मीसँग खेल्न तयार भएको र आफुहरु तीन अंकको लागि खेल्ने बताउँछन् ।
‘आर्मीसँग खेल्न तयार छौं । खेलाडीहरु तयार छन् । तीन अंकको लागि खेल्छौ. ।’ उनी भन्छन् ।
तेस्रो खेलमा थ्री स्टारले महत्वपुर्ण खेलाडी रुपेश केसीलाई गुमाएको छ । बुधबार आर्मीविरुद्ध कप्तान विक्रम लामा थ्री स्टारलाई उपलब्ध हुने छैनन् ।
दुई पहिलो कार्डका कारण उनी आर्मीविरुद्व अनुपस्थित रहनेछन् । तर कप्तान नहुँदा समेत अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा आफु आशाबादी भएको प्रशिक्षक केसी बताउँछन् ।
आर्मी पनि थ्रीस्टारलाई पराजित गर्दै लिगमा अगाडि बढ्ने योजनामा छ । लिग जित्ने लक्ष्य बनाएको आर्मी दोस्रो खेलमा मनाङसँग १–० ले पराजित भएको थियो । हिमालयन शेर्पा र फ्रेन्ड्सविरुद्ध आर्मीले जित निकालेको छ ।
आर्मीले प्रतिबन्धमा परेका मिडफिल्डरको आगमनसँगै गति समाल्ने विश्वास लिएको छ । डिस्को काण्डमा मुछिएका सन्तोष एन्फाको कारबाहिका कारण तीन खेल खेल्नबाट बञ्चित भए ।
आर्मीका सहायक प्रशिक्षक चुनबहादर थापा थ्री स्टारविरुद्ध तीन अंकको लागि खेल्ने बताउँछन् ।
‘एक खेलमा पराजित भैसकेका छौं । हाम्रो लक्ष्य भनेको लिग उपाधि जित्नु हो । त्यसैले थ्री स्टारविरुद्ध जितको विकल्प छैन ।’ उनी भन्छन् ।
सन्तोषको आगमनसँग टिम पुर्ण रुपमा सेट हुने आर्मीको दाबी छ ।
थ्री स्टारविरुद्ध आर्मीले मिडफिल्डर गुमाउने छ । दोहोरो पहेलो कार्डका कारण आर्मीका दिनेश हेम्जन थ्री स्टारविरुद्व अनुपस्थित रहनेछन् ।