काठमाडौं । गत सिजनको उपविजेता संकटा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब दोस्रो जितको खोजीमा रहेका छन् ।
लिगको तेस्रो खेल सकिदाँ दुबै टिमले एक खेल बराबर गरेका छन् भने अर्को खेलमा जित निकालेका छन् ।
सन्तुलित टिमको परिचय बनाएका दुवै टिम प्रर्दशनमा सुधार गर्दै अंक तालिकामा माथि उक्लिने दाउमा छन् । एन्फा कम्प्लेक्समा हुने खेल बिहान साढे ११:३० बजे सुरु हुनेछ ।
लिगमा पुुलिस र संकटाको समान ४ अंक रहेको छ । गोल अन्तरका आधारमा पुलिस भन्दा संकटा पछाडी छ ।
लिगको सुरुवाती खेलमा च्यासल युथ क्लबसँग २–० ले पराजित भएको संकटा दोस्रो खेलमा एनआरटीलाई १–० ले हराएको थियो । तेस्रो खेलमा भने संकटा जावलाखेलसँग एक–एक गोलको बराबरीमा रोकिएको थियो ।
यता, पुलिस पहिलो खेलमै हिमायन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकियो भने दोस्रो खेलमा थ्रीस्टारसँग १–० ले पराजित भयो ।
पुलिसले तेस्रो खेलमा सरस्वतीलाई हराएको थियो ।
पुलिस क्लबको प्रशिक्षक अनन्त राज थापा संकटाविरुद्ध स्पष्ट तीन अंकका लागि खेल्ने बताउँछन् । ‘संकटासँग तीन अंकको लागि खेल्छौं ।’ उनी भन्छन् ।
पछिल्लो समय राष्ट्रिय टिमका लेफ्ट ब्याक डिफेन्डर रविन श्रेष्ठको आगमनमा पुलिस हौसिएको छ ।
लिससंग राष्ट्रिय टिमका तीन खेलाडी छन् । संकटामा दुई खेलाडी छन् ।
पुलिसबाट खेल्ने डिफेन्डर अजित भण्डारी, मिडफिल्डर तेज तामाङ र रवि पासवान राष्ट्रिय टिममा रहेका छन् । संकटाका डिफेन्डर सरोज दाहाल र मिडफिल्डर सुभाष गुरुङ राष्ट्रिय टिमका सदस्य हुन् ।
संकटा पनि लिगमा दोस्रो जित निकाल्ने दाउमा छ ।
विदेशी तीन खेलाडीको साथ पाएको उसले पुलिसविरुद्ध विदेशी खेलाडीको प्रभावमा तीन अंक बटुल्न चाहन्छ ।
‘नेपालमा विदेशी खेलाडी चलेको अवस्थामा सहज जित आउँछ । पुलिसविरुद्ध उनीहरु चलेमा जित निकाल्न सक्छौ ।’ उनी भन्छन् ।
अन्तिम खेलमा विदेशी खेलाडी चल्न नसक्दा जावलाखेलविरुद्व संकटा बराबरीमा रोकिन पुगेको थियो । पहिलो खेलमै च्यासलसँग पराजित भएको संकटाले त्यसपछि सम्हालिएको प्रर्दशन गर्दै आएको छ ।
गत सिजन संकटाले पुलिसलाई २–१ ले पराजित गरेको थियो ।
पुलिस गत सिजनको हारको बदला लिने अवसरमा हुनेछ ।