एजेन्सी । इन्ग्लिश क्लब वेष्ट ह्यामले मुख्य प्रशिक्षकमा डेभिड मोएसलाई नियुक्त गरेको छ ।
मुख्य प्रशिक्षक म्यानुयल पेलेग्रिनीलाई बर्खास्त गर्दै वेष्ट ह्यामले मोएसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
वेष्ट ह्यामसँग मोएसले १८ महिनाको सम्झौता गरेको छ ।
मुख्य प्रशिक्षक नियुक्त भएपछि ५५ वर्षीय मोएसले आफु क्लबमा फर्किदा खुसी लागेको र क्लबको प्रदर्शन सुधारमा काम गर्ने बताए ।
मोएस वेष्ट ह्यामका पूर्व प्रशिक्षक समेत हुन् । मोएस सन् २०१७ मा ७ महिना क्लब हेरेका थिए । तर, क्लबले खराब प्रदर्शन गरेपछि बर्खास्तमा परेका थिए ।
वेष्ट ह्यामले शनिबार राति पेलेग्रिनीलाई बर्खास्त गरेको थियो । लेस्टर सिटीसँग २–१ ले पराजित भएसंगै क्लबले पेलेग्रिनीलाई बर्खास्त गरेको थियो ।