एजेन्सी । बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङले स्पेनिस ला लिगा भन्दा इन्ग्लिश प्रिमियर लिग फुटबलको स्तर उच्च रहेको बताएका छन् ।
यसै सिजन आयाक्सबाट क्याम्प नाउ आएका डी जोङले प्रिमियर लिगको स्तर ला लिगा भन्दा केही उच्च रहेको बताएका हुन् ।
‘मलाई लाग्थ्यो कि ला लिगा विश्वकै सबै भन्दा उत्कृष्ट फुटबल लिग हो । तर, मैले अहिले भोगेको छु र तपाईले पनि हेर्न सक्नु हुनेछ, युरोपको घरेलु लिगहरुको प्रतिस्पर्धा कस्तो छ भनेर,’ डी जोङले भने, ‘स्पेनिस क्लबहरुले ट्रफी, च्याम्पियन्स लिग र युरोपा लिगलाई बढी जोड दिएपनि पछिल्ला केही वर्षयता इन्ग्लिश क्लबले आफ्नो क्षमता देखाएका छन्।’
२२ वर्षीय डी जोङले ला लिगाका १८ खेल खेल्दा एक गोल र दुई असिष्ट गरिसकेका छन् । उनले ला लिगाको अनुभव बटुल्दै आफुले लिगको स्तरबारे बुझेको बताए ।
‘स्किलको कुुरा गर्ने हो भने ला लिगा राम्रो छ। तर, तिब्रता व्यवस्थापनको विषयमा भने इंग्लिस क्लब उच्च स्तरका छन्,’ डी जोङले भने ।
डी जोङ पछिल्लो समय विश्वकै उत्कृष्ट मिडफिल्डर मध्यका एक हुन् । उनी खेल दौरान मैदानमा आफु र खेललाई जुनसुकै अवस्थानमा पनि परिवर्तन गर्न सक्ने क्षमता राख्दछन्।