काठमाडौं । भुटान महिला फुटबल टिम समूह विजेता बन्दै सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै भुटान समूह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
लगनखेलस्थित नेपाली सेनाको मैदानमा भुटानलाई जित दिलाउन छिरिङ याङदेनले निर्णायक गोल गरिन् । उनले खेलको ४३ औं मिनेटमा गोल गरिन् ।
पुलिसमाथिको जितसँगै ३ खेलमा अपराजित भुटानले ९ अंक जोडेको छ । पुलिस ६ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
अब सेमिफाइनलमा भुटानले त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । यस्तै पुलिसले एपीएफसँग खेल्नेछ । एपीएफ समूह 'ए' को विजेता र आर्मी उपविजेता बनेको थियो । सेमिफाइनल खेल सोमबार हुनेछ ।
समूह बी अन्तर्गत कै अर्को खेलमा प्रदेश ५ ले प्रदेश २ लाई २-१ गोल अन्तरले हराएको छ । प्रदेश पाँचकी रजनी थोकर र सुनिता बोम्जनले एक एक गोल गरिन् । प्रदेश २ की मोनिका जीएमले एक गोल फर्काईन् । दुवै टिम समूह चरणबाट बाहिरिएका छन् ।
