एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित सेन्ट इटिनेलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको नवौं मिनेटमा लिन्द्रो पराडेसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा जिन यूडेसले रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटियो । जसको फाईदा पीएसजीले उठायो ।

खेलको ४३ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता २-० को बनाए । ७२ औं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ८९ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाए ।
जितसँगै पीएसजीले १७ खेलमा ४२ अंक जोडेको छ । पीएसजीले शीर्ष स्थानको अग्रता ७ अंकको बनाएको छ । पराजित सेन्ट २५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
