काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको तयारीमा रहेको मनाङ मर्स्याङ्दी क्लब मैत्रीपूर्ण खेलमा जापानको जेएफएल यू-२३ टिमसँग पराजित भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा मनाङ जेएफएलसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
जापान फुटबल लिगका खेलाडी सम्मिलित जेएफएलको जितमा जिन सिओयाले दुई र मासाहिको सुगिताले एक गोल गरे ।
सिओयाले खेलको २८ औं र ३४ औं मिनेटमा गोल गरेका थिए । मासाहिकोले खेलको ८७ औं मिनेटमा थप एक गोल गरे ।

कमल श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको मनाङविरुद्ध एकतर्फी खेल पस्किएको जापानी टोलीले पाएको थप मौका सदुपयोग गर्न नसक्दा फराकिलो जित निकाल्न बन्चित भएको थियो ।
मनाङले अष्ट्रेलियाबाट भखरै फर्किएका जगजित श्रेष्ठ र आदित्य चौधरीलाई भने मैदान उतारेको थिएन । यस्तै एन्फाको प्रतिबन्धमा परेका अन्जन बिष्ट पनि टिम बाहिर रहेका थिए ।
यस अघि जापानी टोलीले भोला सिलवालको कप्तानीमा रहेको नेपाल निलोलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।
साविक विजेता मनाङले पुस २ गते विभागीय टिम एपीएफसँग खेल्दै लिगको सुरुवात गर्नेछ ।
