काठमाडौं । ए डिभिजन क्लब जावलाखेल युथ क्लबले मुख्य प्रायोजकको रुपमा प्रभु बैंकसंग सम्झौता गरेको छ । जावलाखेलले एक बर्षका लागि प्रभु बैंकसंग सम्झौता गरेको हो ।
सम्झौता अनुसार प्रभु बैंकले २५ लाख रुपैयाँ क्लबलाई प्रदान गर्नेछ ।
सम्झौता अनुसार एक बर्षको अवधिसम्म फुटबल जर्सीको अगाडीको भागमा प्रभु बैंकको नाम रहनेछ ।
सम्झौता पत्रमा जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री तथा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका थिए ।
अब क्लबको नाम प्रभु जावलाखेल युथ फुटबल क्लब रहनेछ ।
सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु बैंकका सिईयो शेरचनले प्रभु भगवानको भएको बताउँदै क्लबलाई जित हासिल गर्न सहयोग पुग्ने बताए । उनले क्लबको प्रर्दशनले अर्को बर्षको प्रायोजन तय हुने जानकारी दिए ।
उनले लिगमा राम्रो नतिजा निकाल्न क्लबलाई आग्रह गर्दै निरन्तर क्लबसंग रहने उल्लेख गरे ।
क्लबका अध्यक्ष क्षेत्रीले क्लबको विकासमा प्रायोजन कोशेढुंगा साबित हुने बताउँदै सहयोगका लागि बैंकलाई धन्यबाद दिए ।
उनले क्लबलाई समर्थन गर्दा प्रायोजकलाई समेत लाभ मिलोस भन्ने चाहना रहेको बताए । उनले क्लबलाई मजबुद र उत्कृष्ट बनाउने आफुहरुको लक्ष्य रहेको उल्लेख गरेका थिए ।
यस्तै क्लबले स्पोर्ट्स वेयरको रुपमा लिनिङ र अफिसियल अस्पतालको रुपमा स्टार हस्पिटलसंग सम्झौता गरेको छ । लिनिङले क्लबलाई चाहिने सबै अफिसियल खेल सामाग्री प्रदान गर्नेछ ।
त्यस्तै स्टार हस्पिटलले मेडिकल, डाक्टर, प्राथमिक उपचार र फिजियो उपलब्ध गराउनेछ ।
पुरानै खेलाडीको निरन्तरता
जावलाखेलले नयाँ सिजनको लिगमा अधिकांश पुरानै खेलाडीलाई निरन्तरता दिने भएको छ ।
उसले गत सिजनको लिगमा एपीएफका रुप बहादुर लामालाई, ब्रिगेड ब्वाईजका दिलन लोक्तामलाई र पुलिस क्लबका सुरज घिमिरे र हरि कठायतलाई नयाँ अनुहारको रुपमा क्लबमा अनुबन्धन गरेको छ ।
क्लबले तीन जना विदेशी खेलाडीलाई यथावत राख्दै सिक्किमबाट एक भारतीय खेलाडी ल्याउने प्रयास अन्तिम चरणमा पुगेको जनाएको छ ।
जावलाखेलको टिममा कुददिप कार्की (कप्तान), टेकेन्द्र थापा, अरुण ब्लोन, सुशील यादव, मनिष पौडेल, सिमान्त थापा, निरबहादुर आले, विमल घिसिङ, सुजिल बुढाथोकी, गौतम श्रेष्ठ, सुरज ठकुरी, विशाल तामाङ, एरुज सिं, समिर कार्की, रुपबहादुर लामा, विजय घलान, ड्डाकी जुनियर वाम्बा (क्यामरुन), फोडी फोफाना (गुईनी), एडम डोम्बिया (माली), यज्ञ प्रधान, दिलन लोक्ताम, हरि कठायत, सुरज घिमिरे, अभिषेक वाईवा, गौरव श्रेष्ठ रहेका छन् ।
टिमको प्रशिक्षकमा नरेश थापा, सहायक प्रशिक्षकमा जग्गुनाथ खड्का, व्यवस्थापकमा प्रदीप तण्डुकार र सहयाक व्यवस्थापकमा विकास कार्की रहनेछन् ।